काठमाडौं, जेठ ३१ । परिवारको गुजारा चलाउने एउटै आधार थियो, जीएसए टेम्पो। त्यही टेम्पोबाट दैनिक व्यापार गरेर जीवन धानिरहेकी कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामी अहिले न्यायको खोजीमा भौतारिइरहेकी छन्।
उनका अनुसार डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको टेम्पोबाट सामान झारेर भिरमा खसालिदिए। टेम्पो क्षतिग्रस्त बनेपछि उनको जीविकोपार्जनको माध्यम नै समाप्त भएको छ।
“सामान झार्नुभयो, गाडी घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्न चाहेन,” धामीले गुनासो गरिन्। उनका अनुसार घटनापछि परिवारको दैनिकी नै अन्योलमा परेको छ। स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीवनयापनको साधन नै नष्ट गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले पटक–पटक हटाउन ताकेता गर्दा नमानेको र कर्मचारीलाई गाली गरेपछि धकेलाधकेलको अवस्था आएको दाबी गरेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी जिवछ यादवले पटक–पटक हटाउन आग्रह गरिएको र टेम्पो भिरमा फाल्ने नियत नभएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे छानबिन गरिरहेको छ ।



प्रतिक्रिया