Logo

युद्धको चपेटामा परेर मर्नु छैन, नेपाल फर्किन मन छ



गत शनिबार बिहान बिद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरु त्रसित बनिरहेका छन् । नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हाल इजरायलमा करिब ४ हजार पाँच सय जना नेपाली कामदार र २६५ जना विद्यार्थीहरु रहेका छन् ।

आइतबार बसको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिएको जानकारी अनुसार २६५ जना विद्यार्थीहरु हाल इजरायलमा ‘लर्न टू अर्न’ कार्यक्रममार्फत सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट त्यहाँ पुगेका हुन् ।

सोमबार बिहान इजरायलका लागि नपाली राजदूत कान्ता रिजालले रिपोर्टर्स नेपाललाई दिएको जानकारी अनुसार हमास समूहको आक्रमणमा परेर १० जना नेपालीले ज्यान गुमाएका छन् । राजदूत रिजालका अनुसार मृतकको शव तत्कालै नेपाल ल्याउने आवश्यक पहल भईरहेको छ ।

हमास समूहले गरेको आक्रमणको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका-२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका छन् ।

रिपोर्टर्स नेपालले भण्डारीले लेखेको उक्त पत्रलाई उनकै शब्दमा प्रकाशीत गरेको छ ।

श्रीमान् प्रधानमन्त्री ज्यु, नेपाल सरकार

कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं। ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केहीगर्ने हाम्रो सपनाको संसार भत्किदै गईराखेको छ । हाम्रो आत्माबल घट्दै गईराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेका हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पड्किने पटकाहरु खुसीका साथ रमाउदै हेरेका हामी आज आफ्नै अगाडी बन्दुक पड्किराखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भने बंकरभित्रनै छिरेर आक्रमण भईराखेको छ । हाम्रा सुदुरपश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले हाम्रो छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नुको अर्को विकल्प केहीपनि छैन । लुकेर बसेका हामीहरू खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाँउ भने भोक र प्यास लाग्छ खाँउ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन सबैतिर पुगिसकेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो समय रहने देखिएको छ । त्यसैले हामीलाई तत्कालै हाम्रो देश फर्कन मन छ ।

प्रधान‌मन्त्री ज्यु,अवको हाम्रो आशा पनि तपाईनै हो, भरोसा पनि तपाईने हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस । हामी देशमानै रमाउने छौ ।

हामी नेपालको ३ वटा विश्वविध्यालयबाट यहाँ आएका छौ ।

१.कृषि तथा वन विज्ञान विश्वविध्यालय
२.त्रिभुवन विश्वविध्यालय
३.सुदुरपश्चिम विश्वविध्यालय

सँगै यहाँ अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपाल सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईले अवश्य गराउनुहुनेछ यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ ।

युद्धको चपेटामा परेको नेपाली

(कृषि तथा वन विज्ञान विश्वविध्यालयमार्फत इजरायल पुगेका अन्नपुर्ण गापा २, कास्की घर भएका भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको पत्र)



प्रतिक्रिया दिनुहोस्

Screenshot