काठमाडौं, ८ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।
हिजो (बुधबार) गृहमन्त्री लेखकसँगको भेटमा केसीले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए्बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी मार्गप्रशस्त गर्न ध्यानाकर्षण गराएका हुन् ।
सो अवसरमा संसदमा जारी हिउँदे अधिवेशनमार्फत नै संविधानप्रदत्त अधिकारको उपभोग गर्न पाउने गरी कानूनी प्रावधान ल्याउन, गैरआवासीय नेपाली नागरिकता बहाक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने प्रावधानलाई प्रतिस्थापन गर्ने कानून बनाई गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नै नचाहिने कानून बनाउन, एनआरएन एक्टलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउन र अन्य आवश्यक ऐन तथा कानून परिमार्जनका लागि अनुरोध गरिएको केसीको सचिवालयले जनाएको छ ।
जवाफमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने जारी हिउँदे अधिवेशनबाटै कानुन बनाउने प्रतिबद्धता गरेका थिए । त्यसका लागि परराष्ट्र, कानून लगायत सम्बद्ध मन्त्रालयसँग छलफल भइरहेको उनले जनाएका थिए ।




प्रतिक्रिया