सानेपामा कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकैसाथ अघि बढाइएको हो।

केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना तीन स्थानमा भइरहेको छ। प्रत्येक मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको समितिले जनाएको छ।

यसअघि शुक्रबार राति राष्ट्रिय सभागृहमा सम्पन्न सभापति पदको मतगणनाबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए।