माओवादीकै नेतृत्वमा देश ग्रे–लिष्टमा परेको एमाले नेताको आरोप, प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव


काठमाडौं, ११ फागुन । नेकपा (एमाले)का नेता डा. राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश ग्रे–लिष्टमा परेको दाबी गरेका छन् । नेपाल ग्रे–लिष्टमा पर्नुको कारणको जगमा माओवादीके विगतका निर्णयहरु रहेको उनको दाबी छ ।

आजको प्रतिनिधिसभामा माओवादी सांसदले नेपाल ग्रे–लिष्टमा परेको विषयमा सरकारको औचित्यमाथि प्रश्न उठाउँदै राजीनामा दिन सुझाव दिएका थिए । त्यसको काउन्टरमा नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले नैतिकताको कुरा गर्ने हो भने प्रचण्डलाई राजनीतिबाट सन्यास लिनपनि सुझाव दिएका छन् ।

भट्टराईले फेशबुकमा लेखेका छन्–

माओवादी केन्द्रकै नेतृत्वमा देश ग्रे लिस्टमा किन पर्‍यो ?
माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारलाई नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। तर, यो आरोप लगाउने उनीहरूको नैतिकता कत्तिको उच्च छरु देशलाई ग्रे लिस्टमा पुर्‍याउने मुख्य कारणहरू के हुन् भन्ने हेर्दा, यसको जगमा माओवादीकै विगतका निर्णयहरू छन्।
१। माओवादी हिंसा र सम्पत्ति शुद्धीकरणको सम्बन्ध
माओवादी युद्धकालमा अकुत सम्पत्ति जम्मा गरियो, जुन अनुगमन हुन सकेन।
जबरजस्ती चन्दा, लुटपाट र अपहरणबाट उठाएको पैसा अहिले पनि वित्तीय प्रणालीमा अस्वच्छ रूपमा मिसिएको छ।
२। एफएटीएफ ग्रे लिस्टको कारण नेपाललाई ग्रे लिस्टमा राख्नुको मुख्य कारण भनेकै वित्तीय पारदर्शिता अभाव, गैरकानुनी लेनदेनको निगरानी कमजोरी, र आतंकवादी गतिविधिमा आर्थिक सहयोग हुन सक्ने सम्भावना हो। प्रचण्ड प्रधानमन्त्री भएका बेला नै एफएटीएफले पटक–पटक चेतावनी दिएको थियो।
२०६३ पछि माओवादी नेतृत्व सरकारमा आएदेखि नै आर्थिक अनियमितता बढ्दै गयो। सरकारमा हुँदा कानुनी सुधार नगर्ने, अनुगमन कमजोर पार्ने, र आफ्ना भ्रष्ट नेताहरूलाई जोगाउने खेल माओवादीले नै गर्‍यो।
४। कसले मार्ग प्रशस्त गर्नुपर्छरु
यदि माधव सापकोटाले नैतिकताको कुरा उठाउने हो भने, पहिला प्रचण्ड स्वयंले नैतिक जिम्मेवारी लिएर राजनीतिबाट संन्यास लिनुपर्छ। माओवादी नेतृत्वकै कारण आज नेपाल अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको नजरमा अस्वच्छ देखिएको हो।
सरकार असफल भयो भन्ने आरोप लगाउनु सजिलो छ, तर यसको जग कसले खन्यो भन्ने बुझ्नुपर्छ। माओवादीकै कारण नेपाल भ्रष्टाचारको अखडा बन्यो, अनि आज आएर आफैंलाई चोखो देखाउने कोसिस गर्दैछन्। वास्तविक दोषी को हो भन्ने जनता राम्रोसँग बुझ्छन्।