डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग


काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग दोहोर्याएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले यसअघि पनि आफूले डिजिटल कारोबार फ्रि गराउनकोलागि सदनमा बोलेको र सोहीअनुसार अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै ज्ञापनपत्र बुझाएको पनि स्मरण गराईन् । तर, अहिलेसम्म डिजिटी कारोबार निशुल्क नबनाईएकोमा भने गुनासो पोखिन् ।

उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले पनि ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाईएको छ भन्नुभएको थियो, तर हालसम्म कुनै काम अघि बढाईएको छैन् । सरकारले यसरी बारम्बार वचन दिने र काम नगर्ने हो भने जनताको विश्वास तोड्ने काममात्रै गर्छ ।’

केही दिनअघि नेपाल–चीनबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली खेलाडी आशिष राई घाईते भएको र अहिलेसम्म पनि सरकारले उपचारको लागि कुनै चासो नदेखाएको भन्दै उनले आक्रोश पोखिन् ।