समाज कल्याण गुठी विष्णुडोलको स्मारिका विमोचन


ललितपुर, २४ असोज । देशकै उदाहरणीय गुठीको परिचय बनाएको समाज कल्याण गुठी विष्णुडोलको स्मारिका विमोचन भएको छ । शनिबार महालक्ष्मी नगरपालिका ८ मा २०४६ सालमा गठन भएको गुठीको नवौं साधारण सभामा स्मारिका विमोचन भएको हो ।


बिमोचन विष्णुडोलका जेष्ठ नागरिक ९३ वर्षीय श्यामबहादुर खत्री र प्रमुख अतिथिी गुठीका जेष्ठ सदस्य भुवनबहादुर बस्नेतले गर्नुभएको थियो । स्मारिकामा गुठीको ३७ वर्ष लामो इतिहासका घटना देखि विष्णुडोल गाउँका ऐतिहासिक दस्तावेजसहितका लेखहरु समावेश छन् ।

स्मारिका आफैमा ऐतिहासिक दस्तावेजका रुपमा रहने सम्पादक इन्दबहादुर खत्रीले बताए ।
१९२ पृष्ठको स्मारिकामा ऐतिहासिक दस्तावेज र तस्बिरहरु समेत थप पृष्ठमा छन् । स्मारिकाले नेपालको गुठी प्रथाको इतिहास, महत्व र विशेषताका अलावा विष्णुडोल गाउँमा यसको पृथक अभ्यासबारे तथ्यसहित व्याख्या गरिएका लेखहरु समावेश गरेको छ । विष्णुडोलमा भएका सामाजिक र आर्थिक संस्थागत गतिविधिहरुबारे पनि उल्लेख छन् ।


यसअघि समाज कल्याण गुठीको नवौं वार्षिक साधारण सभामा अध्यक्ष कुबेर केसीले गुठीले विगत वर्षमा गरेका काम र भावी योजनाबारे प्रकाश पारे । उहाँले यो कार्यकालमा गुठीको सम्पत्ति संरक्षण देखि इतिहासको दस्तावेजको संरक्षण गरी स्मारिकाका रुपमा प्रकाशन गरिएको बताए ।


सचिव विवेककुमार कार्कीले उद्घोषण तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले भावी कार्य दिशाबारे पनि जानकारी दिए । कोषाध्यक्ष भीमसेन खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।


साधारणसभामा गुठीका परिकल्पनाकार ध्रुव बिष्ट, संस्थापक अध्यक्ष नारायण खत्री, पूर्व अध्यक्षहरु लक्ष्मण कार्की, यक्षकुमार बस्नेत, प्रल्हाद बिष्ट, गुठी स्मारिकाका सम्पादक इन्द्रबहादुर खत्रीलगायत अतिथिका रुपमा सहभागी थिए ।