काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले यसपटकको दशैँ बाढीपहिरोबाट प्रभावित नागरिकसँग बसेर मनाउने बताएका छन् ।
विश्व शान्ति चिरन–मिलन क्याम्पसद्वारा वडा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान, पदक तथा पुरस्कार वितरण र छात्रवृत्ति वितरण कार्यक्रममा अतिथिका रूपमा सम्बोधन गर्दै धमलाले देश संकटको अवस्थामा रहेकाले सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपालीहरुकाे महान् पर्व दशैँ, तिहार तथा छठ नजिकिँदै गर्दा पनि आफू यसपटक खुसी हुन नसकेको बताए । गत १० भदाैमा भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोका कारण नागरिकले भोग्नुपरेको पीडाले आफूलाई दुःखी बनाएको उनको भनाइ थियो ।
‘यसपटकको दशैँमा म नुवाकोटमा हुन्छु, रसुवामा हुन्छु । बाढीपीडितसँग बसेर म दशैँ मनाउँदैछु,’ धमलाले भने । उनले होल्डिङ सेन्टरमा रहेका पीडितहरूले फोन गरेर आफूलाई आफ्ना समस्या सुनाउने गरेको उल्लेख गर्दै विपद्बाट प्रभावित नागरिकको पीडामा सबैले साथ दिनुपर्ने बताए ।

धमलाले देशको उन्नति र प्रगतिका लागि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । शिक्षा र स्वास्थ्यमा लगानी बढाउन सके मात्रै देशको समग्र विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

विद्यार्थीहरूलाई असल मानिस बन्न प्रेरित गर्दै उनले असल बन्न सके सफलताको बाटोसमेत सहज हुने बताए । सफलताका लागि असल आचरण, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको उनको धारणा थियो ।
त्यस्तै, उनले विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण हुने भन्दै पढाइसँगै खेलकुदमा पनि ध्यान दिन आग्रह गरे ।





प्रतिक्रिया