काठमाडौं, १३ फागुन । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सिजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक वरुण चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको खजुराहो विमानस्थलमा स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी बागेश्वरधामका गुरु धिरेन्द्र कृष्ण शास्त्रीको निम्तो मान्न त्यता गएका हुन् । सो क्रममा मोदीलाई नेपालका वरुण चौधरीले स्वागत गरेको तस्विर बाहिरिएको छ ।
गुरु धिरेन्द्र कृष्णशास्त्रीका अनन्य मानिने वरुण सामाजिक तथा धार्मिक कार्यक्रममा पनि उत्तिकै सक्रिय छन् । उनै चौधरीलाई गुरु धिरेन्द्र कृष्णशास्त्रीले मोदीको स्वागतको लागि जिम्मेवारी दिएका थिए । चौधरीले सामाजिक सञ्जाल इन्साटाग्रममा मोदीको उपस्थितिलाई ‘अटल समर्पण र दूरदर्शी नेतृत्व’ को प्रतीक भन्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘मोदीजीको उपस्थितिले प्रेरणादायी नेतृत्वको प्रतिविम्ब देखाउँछ ।’

मोदीले बागेश्वरधामको भिजिट गर्न पाएकोमा आभार व्यक्त गर्दै बाबा धिरेन्द्र कृष्णशास्त्रीको कामको प्रशंसा गरेका छन् । चौधरी ग्रुपको व्यवसायिक सफलतामा वरुणले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनकै प्रेरणादायी नेतृत्वको कारण आज सिजी ग्रुप अन्तर्राष्ट्रियस्तरमा पनि ख्याँति कमाउन सफल भएको छ ।
वरुणकै पहलमा गत वर्ष बागेश्वरधाम बाबा नेपाल आएका थिए । उनलाई नेपाल ल्याएर हनुमन्त कथा वाचन गराएपछि वरुणले नेपाल र भारतबीचको धार्मिक, सांस्कृति महत्वलाई पनि नयाँ उचाईमा पुर्याएको भनेर प्रशंसा भैरहेको छ ।




प्रतिक्रिया