अध्यादेश भोलि नै संसद्बाट पारित गराउने तयारी, एमालेले लगायो ह्वीप


काठमाडौं, २० फागुन । सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ । भूमिसम्बन्धी अध्यादेशको विषयले सरकार एक महिना रोकिनुपरेको थियो । सत्ता गठबन्धनमा रहेकै दलहरुले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय लिएपछि सरकार एक महिनासम्म ती अध्यादेश संसद्मा निर्णयार्थ पेश गर्नबाट ब्याक भएको थियो ।

आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि २१ फागुन बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो । यो निर्णयसँगै प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले आफ्ना सांसदहरुलाई अनिवार्य भोलिको बैठकमा उपस्थित् हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

उता, कांग्रेसले पनि अध्यादेशको पक्षमा सांसदहरुलाई ह्वीप जारी गरेको छ । तर, जनता समाजवादी पार्टी नेपाल र लोसपाको आग्रहमा सरकार विभिन्न ६ अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेर अरु ५ वटामात्रै अध्यादेश पारित गराउन सहमत भएको हो ।