काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै फरक विचार राख्ने सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत सभापति पदका प्रतिस्पर्धी खड्गीले निर्वाचनको परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। उनले थापालाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीभित्र एकता, सहकार्य र आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्।
महाधिवेशनमा सहभागी भएर मतदान गर्ने प्रतिनिधि तथा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै खड्गीले निर्वाचनबाट प्राप्त माया, विश्वास र सद्भावलाई आफ्नो अमूल्य राजनीतिक सम्पत्ति भएको बताएका छन्।
उनले विशेष र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र देखिएका असमझदारी तथा विभाजनका भावनालाई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। छुट्टै महाधिवेशनको प्रक्रियामा रहेका नेताहरूलाई समेत संवाद, सहमति र सम्मानका आधारमा पार्टीको मूलधारमा ल्याउनुपर्ने उनको भनाइ छ।
‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ,’ खड्गीले लेखेका छन्, ‘तपाईंलाई मत दिने र नदिने तथा फरक विचारमा रहेका सबै साथीलाई समेटेर अघि बढ्नुहोस्।’




प्रतिक्रिया