काठमाडौं । धादिङको गजुरी नजिक गलौदीमा त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउन मर्मत कार्य तीव्र पारिएको छ। सडक सञ्चालनमा ल्याउन अहिले भित्तातर्फको भाग खन्ने अर्थात् ‘ब्याक कटिङ’ गर्ने काम भइरहेको छ।
सडक विभागका सूचना अधिकारी सुभाञ्जन दाहालका अनुसार त्रिशूली नदीले सडकको किनार कटान गरेपछि गजुरीबाट काठमाडौं जानेतर्फको गलौदी खण्ड भासिएको थियो। त्यसपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको हो।
भासिएको सडकको विकल्पमा भित्तातर्फ रहेको स्थानीय सडक काटेर नयाँ ट्र्याक निर्माण गर्ने योजना बनाइएको थियो। तर, स्थानीय निकायको अवरोधका कारण सुरुमा काम अघि बढ्न सकेको थिएन।
स्थानीय निकाय तथा सरोकारवालासँग छलफल गरी सहमति जुटेपछि अहिले मर्मत र भित्ता खन्ने कामले गति लिएको दाहालले बताएका छन्।
उनका अनुसार अवस्था सामान्य रहेमा अबको करिब आठ घण्टाभित्र राजमार्गमा यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन लामो जाममा परेका छन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक विभागले सडक पुनः सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई सावधानी अपनाउन र धैर्य गर्न आग्रह गरेको छ।




प्रतिक्रिया