सरकार सांसद किनबेचमा लाग्नु सिंगो संसद्को अपमानको विषय हो : प्रभु साह


काठमाडौं, २१ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यस्तो धारणा राखेका हुन् ।

उनले भने,‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनको लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाईराखेका छन् । अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ । सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ । यो विषय यसरी संसदको नै अपमान हुनेगरि प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जररी छ । होईन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन् ? मिल्छ भने यसमा कानून लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु ।’

केही दिनअघि उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनको लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाएका थिए । त्यही विषयमा आज साहले संसद्मा कुरा उठाएका हुन् ।

सो क्रममा उनले रौतहटमा स्थानीय प्रशासनको आतंक चलेकोघट्नापनि उठाए । उनले भने,‘अहिले रौतटह आन्दोलित छ । त्यहाँका स्थानीय प्रशासनले दोषीलाई निर्दोष र निर्दोषलाई दोषी बनाईराखेको छ । त्यसकारण रौतहट अस्तव्यस्त छ । एकजन वृद्ध दलित गंगाराम बैठा जो निर्दोष मानिस हुन, बिनाकारण उनलाई फसाईएको छ । डिएसपीको रिसिईबीको कारण उनी थुनामा छन् ।’

उनले रौतहटको गौरवको रुपमा रहेको राइसमिल अहिले मिलेमतोमा बेच्ने खेल भैरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण गराए । उनले उक्त प्रपञ्चको विरुद्धमा अहिले सिंगो गौरवासी नै आन्दोलित रहेको पनि जानकारी गराए ।