प्रचण्डले टिकापुरमै पुगेर रेशम चौधरीलाई रिहाई गर्न जोखिम मोलेको सुनाए, यता रेशम भने बाबुरामसँग खानपिनमा


काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीलाई माओवादीसँग एकताको लागि अपिल गरेका छन् । रेशम चौधरीको संरक्षणमा रहेको नाउपा यतिवेला सिके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको लागि गृहकार्यमा छन् ।

रेशम र सिकेबीच पार्टी एकताको विषयमा पटक पटक भेटवार्ता भइरहेको छ । यी दुवै नेताले छिट्टै पार्टी एकता हुने भनेका छन् । हिजो माओवादी केन्द्रका नेताहरु कैलालीको टिकापुरमा भेला भएका थ्एि । थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नाउपाका प्रमुख संरक्षक रेशमलाई रिहा गर्न आफूले खेलेको भूमिकाको पनि स्मरण गराए ।

उनले रेशमलाई आफूले जोखिम उठाएर रिहा गरेको दाबी गरेका थिए । सम्बोधनको क्रममा दाहालले भनेका थिए,‘टीकापुर घटनामा मुख्य दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका उहाँ (रेशम) लाई मैले पटकपटक कारागारमा भेटेको थिएँ । मैले नै मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिलाई भनेर उहाँलाई छुटाएको थिएँ, अहिले रेशम कता छन् त्यो थाहा छैन तर रेशमबाट धेरै हुन्छ भनेर सोच्नुभएका साथीहरूलाई उहाँलाई पनि ल्याएर माओवादीमा आउनुभयो भने भलो हुन्छ ।’

यता, रेशम भने प्रचण्डसँग पछिल्लो समय रुष्ट छन् । उनले प्रचण्डको उक्त अभिव्यक्तिलाई नै लक्षित गरेर प्रचण्डको विरोधी खेमा उभिएका र यतिवेला आलोचनाको बाढी वर्षाउने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईसँग खानपिन गरेको तस्विर सार्वजनिक गरेका छन् ।