राजसंस्था अवश्यम्भावी छ, गणतन्त्र पक्षधरबीच मुडभेड हुनसक्छः राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष सुवेदी (भिडिओसहित)


काठमाडौं, ६ चैत । राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष एवं राजनीतिज्ञ नवराज सुवेदीले सबै राजनीतिक दलहरु समझदारीमा आएर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्था पुनर्स्थापनाको लागि दलहरु समझदारीमा नआए संघर्ष हुने बताएका हुन् । उनले आफूहरुले मुडभेड नचाहेको र सकेसम्म दलहरु समझदारीमा आउन भन्ने अपेक्षा राखेको बताए ।

राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको जनआन्दोलन संयोजन समितिका संयोजकसमेत रहेका सुवेदीले पूर्वराजा ज्ञानेन्द्रलाई दल खोल्न चुनौती दिने, दल खोलेर आइज भन्ने र राजालाई गाली गरिनु गलत रहेको उनले बताए । नेता सुवेदीले अब राजावादी र गणतन्त्र पक्षधरबीच मुडभेड हुने बताए । संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजी आफूहरुको माग रहेको र यो प्राप्ति नभएसम्म आन्दोलन निरन्तर अगाडि बढ्ने उनले बताए ।

संघीयता राम्रो भएपनि यो नेपालको सन्दर्भमा चल्न नसक्ने उनको भनाइ छ । कोशी प्रदेशमा १० महिनाको बीचमा ६ पटक प्रदेश सरकार परिवर्तन भएको स्मरण गराउँदै उनले नेपालले संघीयता चलानै नसक्ने जिकिर गरे । ‘संघीयता राम्रोसँग चल्न सक्नुपर्यो नि ? यत्रो वर्ष भइसक्यो, संघीयता कहाँ चलेको छ ? ६ महिना, १० महिनामा ५ पटक मुख्यमन्त्री फेरिन्छ । संघीयता राम्रो भएर मात्रै भएन । त्यसलाई चलाउन सक्नुपर्यो,’– उनले भने ।

आफू राजसंस्थावादी र कट्टर हिन्दु रहेको बताउँदै उनले अहिले ती दुवै कुरा मासिएको र पुनर्स्थापना हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले सुनाए । सोही मान्यताअनुसार आफूले राजसंस्था पुनर्स्थापनाको नेतृत्व लिएको बताए ।

पूर्वराजा ज्ञानेन्द्र र आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै उनले पछिल्लो समय ६ महिनादेखि आफूहरुको भेट नभएको सुनाए । उनले पूर्वराजा ज्ञानेन्द्र पुनः राजा बन्ने र त्यसपछि उनको उत्तराधिकारी नाती हुने नेता सुवेदीले बताए ।