काठमाडौं, ६ चैत । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले अब सरकारले गरेका कामहरु जनताको माझ लिएर जाने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशमा केही भएन भनेर फिँजाइएका भ्रमहरु चिर्न देशभरका वडा–वडामा सरकारले गरेका कामहरुको जानकारी गराउन आफूहरु अभिायन लिएर जाने तयारीमा रहेको बताएका हुन् । अब एमाले जनतालाई जगाउने र जनतालाई एकजुट बनाउने काममा लाग्ने उनले बताए । अहिले देशमा प्रतिगमनको खतरा बढिरहेकाले पनि जनतालाई सचेत र जागरुक बनाउन जनतामाझ जानुपर्ने उनले बताए ।
‘देशमा प्रतिगमनको खतरा बढिराखेको छ । राजा आउ भनेर एकथरी मान्छेहरु उफ्रिरहेका छन् । त्यस हुनाले जनतालाई जगाउने, जनतालाई एकजुट पार्ने, त्यो कुरामा लाग्नुपर्छ भनेर हामी व्यापक रुपमा टोल अभियानहरु चलाइरहेका छौं । केही समयपछि देशभरीका वडाहरुमा जनसभा, जन परिचालन गर्ने, त्यो ढंगले हामी अगाडि बढ्दैछौं । केही भएन भन्नेहरुलाई हामी अहिलेसम्म सरकारले गरेको कामहरु तयार गरेर सबै जनताको बीचमा प्रशारण गर्ने । समस्या र चुनौतीहरु यस्ता छन्, यति–यति कामहरु विभिन्न क्षेत्रमा पूरा गरेका छौं भनेर तथ्याङ्कसहित जनतामा प्रशारण गर्ने योजनामा लागेका छौं,’– उनले भने ।
साथै,उनले देशमा राजसंस्थाको कुनै सम्भावना नै नरहेको पनि बताए । जनताले सधैं अगाडि बढ्ने खोज्ने बताउँदै उनले देशलाई पछाडि फर्कान खोज्ने कुनै पनि आन्दोलन र अभियान सफल नहुने दाबी गरे । ‘समाज अगाडि बढ्न चाहन्छ । समाजले प्रगति गर्न चाहन्छ । मान्छेले नयाँ–नयाँ चिज खोजिरहेको छ । पछाडि फर्काउने काम सफल हुँदैन । सफल हुन दिइँदैन । लोकतन्त्र मास्ने शक्ति विभिन्न ढंगले लागेका छन्,’– उनले भने । File Photo/RN
प्रतिक्रिया