अवैध २५ करोड प्रकरणः राजश्व अनुसन्धानमाथि माओवादीको आशंका, विशेष समिति बनाएर छानविन गर्न माग


काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले काठमाडौंको झोरबाट नियन्त्रणमा लिइएको अवैध २५ करोड प्रकरण छुट्टै समिति बनाएर छानविन हुनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको कार्यालयमातहतमा रहेकाले निश्पक्ष छानविनमाथि आशंका व्यक्त गरे । यस घटनामा जोसुकै नेता वा कर्मचारीको संलग्नता भएपनि निश्पक्ष छानविन हुनुपर्ने उनको माग छ ।

‘राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत छ । यस घटनाका बारेमा विशेष प्रकारको छानविन समिति निर्माण गरियोस् । यो घटनामा संलग्न रहेका जोसुकै नेता, कर्मचारी किन नहुन्, तिनलाई कानुनी दायरामा ल्याउनका लागि माग गर्न चाहन्छु,’– उनले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौंका झोरबाट २५ करोडभन्दा बढी रुपैयाँसहित कुशाङ लामालाई पक्राउ गरेको थियो । आफ्नै ट्रकमा १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार ३८५ अमेरिकी डलर लिएर झोरको बाटो हुँदै रसुवातिर गइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त पैसा कहाँबाट आएको हो भन्ने अहिले स्रोत खुलिसकेको छैन । लामाले आफू भरियामात्रै रहेको प्रहरीसमक्ष बयान दिएका थिए । जफत गरिएको सामानसहित लामालाई राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।