काठमाडौं, ६ चैत्र । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरु राजसंस्था फर्काउनको लागि सडकमा उत्रिन लागेको स्पष्ट पारे । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा स्वागतमा जनलहर देखिएको भन्दै शाहको प्रतिष्ठा बढेको दाबी गरे ।
तर, नेताहरु फुटबल प्रतियोगितामा जाँदापनि नाराबाजी लाग्ने गरेको र उनीहरुलाई दुत्कार्ने काम भएको भन्दै नेताहरुभन्दा राजाको प्रतिष्ठा बढेको सुवेदीको दाबी छ । नेपालमा राजसंस्था भैराखेको भए अहिलेको जस्तो देशको दुदर्शा नहुने उनको दाबी छ ।
उनले राजसंस्था फर्काउने सम्झौता भयो भने अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली नै निरन्तर रहनसक्ने दाबी गरेका छन् । उनले सम्झौता भयो भने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपालमध्ये एक जनापनि प्रधानमन्त्री हुनसक्ने बताए ।
तर, राजावादीहरुको आन्दोलनबाट राजसंस्था फर्कियो भने राजेन्द्र लिङ्देन, कमल थापा, प्रकाशचन्द्र लोहनीहरुमध्येबाट एक जना प्रधानमन्त्री बन्ने र आफूले दाबी नगर्ने पनि सुवेदीको भनाई छ । राजसंस्था फर्कियो भने पूर्वराजा ज्ञानेन्द्र शाह नै राजा बन्ने उनको दाबी छ। ज्ञानेन्द्रपछि भने पारश नभएर पारशका छोरा हृदयेन्द्र शाह राजा बन्ने उनको भनाई छ ।
प्रतिक्रिया