नेपाली भाषामाथि दशै दिशाबाट भीषण र साङ्घातिक हमला भइरहेको छ : रामेश्वर राउत ‘मातृदास’ (साहित्य वार्ता)


रामेश्वर राउत ‘मातृदास’
माता/पिता : चेतकुमारी/दिलबहादुर राउत क्षत्री ।
जन्मस्थान : ठूलो थकनी–१ राउतगाउँ हाल मेलम्ची नगरपालिका वडा नं ४ थकनी वशिष्ठधाम ।
प्रथम प्रकाशित रचना : भालुलाई पुराण, कथा परोपकार स्मारिका, वि.सं. २०३५ मा ।
प्रथम प्रकाशित कृति : जगमा पसेका मुसाहरू (कवितासङ्ग्रह २०४९) ।

प्रकाशित कृतिसंख्या : २२ वटा । कवितासङ्ग्रह, गीतसङ्ग्रह, बाल साहित्य, नाटकसङ्ग्रह, आध्यात्मिक कृति आदि ।

तपाईं साहित्यिक लेखनमा कहिलेदेखि जुट्नुभयो ?

म सानै उमेरदेखि साहित्यिक लेखनमा जुटेको हुँ अझ भनौँ चार कक्षादेखि नै कथा, कविता, निबन्ध आदि रचनाहरू गोरखापत्रमा प्रकाशन हुन थालेका हुन् ।

तपाईंलाई कुन/कुन साहित्यकारका कृतिले बढी प्रभाव पारेका छन् ?

मलाई मूलतः महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम आदिका कृति अत्यन्त हृदयस्पर्शी लाग्दछन् ।

तपाईंका कविताहरू के/कस्ता भावनाबाट प्रभावित छन् ?

देशप्रेम, मानव समाज र सभ्यतासँग मेरा कृति घनिष्ट अनि अभिन्न रूपमा जोडिएका हुन्छन् । अध्यात्मलाई मेरा हरेक रचनाले केन्द्रमा जोडेको हुन्छ । मानव समाजलाई सधैं आशा र उत्साह जगाउने अनि मानवसभ्यतालाई जोगाउने शुभकार्यमा मेरा सिर्जनाले पाठकहरूलाई प्रेरित गर्दछन् । निरीह हैन– साहसी बनेर कर्मक्षेत्रमा अग्रसर हुने प्रेरणा मेरा सिर्जनाबाट पाठकहरूले अनुभूत गर्न सक्नुहुन्छ ।

तपाईंलाई पाठकहरूले कसरी चिन्न थालेका छन् ?

आम पाठकवर्गले मलाई एउटा न्यायिक, निर्भीक र साहसी स्रष्टाका रूपमा चिन्दै आउनुभएको छ । मुना, मधुपर्क, युवामञ्च, कामना, किराँतेश्वर सन्देशजस्ता अनेकौं नाम चलेका स्तरीय पत्रिकामा मेरा सिर्जनाहरू प्रकाशन भएका छन् । यो लेखन कार्यलाई मैले आजसम्म पनि निरन्तरता दिंदै आएको छु । तर दुर्भाग्य, आज नेपाली भाषामाथि दशै दिशाबाट भीषण र साङ्घातिक हमला भइरहेको छ । देवनागरी लिपि र चौसट्ठी अक्षर अङ्कलाई नै समाप्त पार्ने घनघोर भाषिक अन्याय व्याप्त छ । भाषा नै हाम्रो अगम्य शक्ति हो । भाषासँग हाम्रो सम्पूर्ण अस्तित्व जोडिएको छ ।

अझै केही भन्न बाँकी छ कि ?

म विगत धेरै वर्षदेखि यही भाषा रक्षाको अभियानमा पनि निरन्तर रूपमा लागिरहेको छु । भाषा बचाउने महत्तम कार्यमा हामी सबै नेपाली जाग्नु र लाग्नु अनिवार्य छ । हाम्रो कुल र मूल भनेकै भाषा हो । दश वर्षभित्र हाम्रो लेख्य साक्ष्य तथ्यलाई नै समाप्त पार्ने विषाक्त योजना अनि उद्देश्यका साथ देवनागरी लिपि, चौसट्ठी अक्षर र अङ्कहरूमाथि दशै दिशाबाट घनघोर हमला भइरहेको छ । वर्तमानमा जीवित हामी कलम समाउनेहरू सबै भाषा रक्षाका लागि एकताबद्ध भएर जुट्नु अनिवार्य भएको छ । भाषा नै रहेन भने हाम्रो सम्पूर्ण अस्तित्व समाप्त हुन्छ । यसपछि हाम्रा सिर्जना रहने कुरै भएन । यसैले म एकलव्य बनेर भाषा सेवा र रक्षाका लागि निरन्तर सेवारत छु । जय देवनागरी लिपि चौसट्ठी अक्षर र अङ्कहरू ।