काठमाडौं, ५ जेठ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सबै कार्यक्रम बहिस्कार नै गर्ने गरेको, तर उनको नाम चाहीँ राखिरहनुपरेको भन्दै असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा आउने कि नआउने एक पटक सोधरेर अर्को पटकदेखिका कार्यक्रममा त्यस्ता व्यक्तिको नाम हटाउनसमेत उनले निर्देशन दिए । ‘केहीकेही मान्छे सधैं राख्ने गर्छौं हामीले । कहिले पनि देखा पनि गर्दैनन्, केही गर्दैनन् । कहिले पनि नआउने, नाम चाहीँ सधैं टाँस्नुपर्ने । कुनै अर्थ, महत्व नै छैन भने सधैं नाम झुण्ड्याइरहने त्यो नगरेपनि हुन्छ क्या । कि तपाईँहरु सोध्नुस् आउने हो कि होइन ?’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया