काठमाडौं, ७ जेठ । प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ठीक रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राज्यमाथि ओलीको जस्तो कमाण्ड अरु नेताहरुको नरहेको बताएका हुन् । उनले राज्य सञ्चालनमा कांग्रेस सभापति देउवालाई कुनै मतलब नै नरहेको र उनलाई पैसा र पद भए पुग्ने आरोप लगाए ।
त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डले सरकारमा गए पनि आजसम्म सत्तामा पहुँच पुर्याउन नसकेको उनले बताए । ‘यी तीनवटा नेतामा ओली नै ठीक । किनकी उहाँले राज्य बुझेको छ, राज्यमाथि कमाण्ड छ । बाँकीको कमाण्ड नै छैन । शेरबहादुरजीलाई केही मतलब नै छैन । पद र पैसा भए पुग्छ । प्रचण्डजीको यत्रो वर्ष भयो सत्तामा पहुँच पुर्याउन सक्नुभएन । सरकार र सत्ता फरक–फरक कुरा हो । ओलीजी सरकारमा नभए पनि सत्तामा रहनुहुन्छ,’– उनले भने ।
त्यस्तै, अहिले न्यायपालिका एमालेको कब्जामा रहेको उनको आरोप छ । नेता सिंहले संसद् सचिवालयका ९० प्रतिशत कर्मचारीसमेत एमालेकै समर्थक रहेको उनले बताए । ‘न्यायपालिका कब्जा गरेको छ । आजको दिनमा संसद सचिवालयमा ९० प्रतिशत कर्मचारी एमाले छ । एमालेको पनि अरु नेताको होइन, ओलीजीको सबै । उहाँले एउटै कुरा जानेको छ, संस्था कब्जा गर्ने । उहाँलाई फेरि देश र जनताप्रति मतलब छैन,’– उनले भने । File Photo/RN
प्रतिक्रिया