नेपाल–भारत सम्बन्धलाई आजको सन्दर्भमा एउटा विश्वासिलो आधार तयार गर्नुपर्छ : राजकिशोर यादव


काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा सांसद राजकिशोर यादवले नेपाल र भारतबीचको सम्बन्ध एकदमै राम्रो हुनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘दुई देशबीचको सम्बन्ध दुवै देशको लागि आवश्यकत्ता पनि हो । सम्बन्ध राम्रो भयो भने दुवै देशलाई राम्रो हुन्छ । हामी त छिमेकीमात्रै होईन, भारतसँग जुनप्रकारको हाम्रो व्यवसायिक निर्भरता छ । त्यसकारण सम्बन्ध राम्रो हुनुपर्छ । हाम्रो प्रधानमन्त्री त्यहाँ जानु, त्यसमा क्रमिक सुधारको प्रयास भैरहेको छ । त्यो भयो भने राम्रो हो । त्यसमा धेरै हाउगुजी गर्नु राम्रो होईन ।’

आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । नेपालसँग सम्बन्ध राम्रो भयो भने भारतको लागि पनि राम्रो हुने उनको भनाई छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भैरहेको अहिलेको प्रयास राम्रो रहेको बताए । उनले भारत र नेपाल धेरै कुरामा जोडिएको र समस्या हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । नेपालसँगको सम्बन्ध अझै विश्वासको आधारमा बढाउनको लागि भारत संवेदनशील हुनुपर्नेमा यादवको जोड छ ।

उनले सत्तापक्ष र प्रतिपक्षीहरुबीचको अडान र टकराबको कारण संसद् अवरोध जारी रहेको टिप्पणी गरेका छन् । आफूहरु सदन चल्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाई छ । उनले भने,‘सदन भनेको जनताको आवाज हो । अहिले त बजेटमाथि छलफल हुनुपर्ने हो । जनताका धेरै समस्या उठान गर्नुपर्ने हो । त्यसको लागि हामीले गर्नुपर्ने सकारात्मक पहलकदमी लिएका छौं । वस्तुनिष्ठ दृष्टिकोण राखेर हामीले सदन खोल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । मधेशी मोर्चाले त दुवै पक्षलाई जिम्मेवार भएर अघि बढ्नुहोस भन्ने कुरा हो ।’

भिजिट भिसा प्रकरणको कारण अवरुद्ध भएको सदन आज खुल्नसक्ने सम्भावना यादवले सुनाए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जिम्मेवारीपूर्वक सदन खुलाउन दुई बुँदे प्रस्ताव अघि सारेकोले यसले अहिलेको अवरोधलाई खुलाउनको लागि सहयोग पुर्याउने यादवको विश्वास छ ।