काठमाडौं, ३० जेठ । सत्तापक्ष र प्रतिपक्षबीच सदनको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरु महेश कुमार बर्तौला र हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
यसअघि प्रमुख तीन दलबीच सहमति हुने भनिएको थियो । तर, हस्ताक्षर भने एमाले संसदीय दलका प्रमुख सचेतक बर्तौला र मुख्य विपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले मात्रै हस्ताक्षर गरेका छन् ।
सहमतिको पहिलो बुँदामा भनिएको छ,‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।’
यस्तै, दोस्रो बुँदामा भनिएको छ,‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।’

प्रतिक्रिया