प्रचण्डले साथ नदिएको भए रवि लामिछानेले यो दुर्दशा भोग्न पर्दैन थियोः उपेन्द्र यादव


काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादीले भिजिट भिसा प्रकरणको विषय किन उठाएको र किन सम्झौता गरेको भन्ने आफूले बुझ्न नसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले के प्राप्ति गरेर भिजिट भिसा प्रकरण छाडेको भन्ने बुझ्न नसकेको बताएका हुन् ।

‘भिजिट भिसा प्रकरण उहाँहरुले किन उठाएको हो । के प्राप्ति गरेपछि छाडेको हो ? यो मैले बुझेपछि भनौंला,’ उनले भने, ‘हिजो गृहमन्त्रीको राजीनामा माग्न, संसद् अवरुद्ध गर्ने तर आज त्यो आवश्यक छैन भन्नेलाई के भन्ने । त्यो अवरोध गर्नु नै गलत थियो । आज मैले सही गरेँ भन्नुपर्यो नि त ।’

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रचण्डले साथ दिएकै कारण आज उनले यो दुर्दशा भोग्नुपरेको उनले बताए । ‘रवि लामिछाने यदि प्रचण्डको साथ नभएको भए यो दुर्दशा भोग्नुपर्दैन थियो होला,’– उनले भने ।

अध्यक्ष यादवले अहिले आफूहरु सत्तारुढ गठबन्धन र सरकारमा नरहेको बताए । वर्तमान सरकारले सुशासन, अर्थतन्त्र सुदृढीकरण, संविधान संशोधनलगायतका विषय उठाएपछि आफूहरुले बाहिर नै बसेर समर्थन दिएको उनले बताए । ‘उहाँहरुले चार पाँच वटा कुराहरु गर्छु भन्नुभएको थियो । सुशासन ल्याउने, अर्थतन्त्रलाई सुधार्ने, संविधान संशोधन गर्नेजस्ता प्रतिवद्धता जनतासमक्ष जाहेर गर्नुभयो । यो कार्य गर्नका लागि साथ दिनुस् भन्नुभयो । हामीले हाम्रो समर्थन रहन्छ भन्यौं,’– उनले भने ।

साथै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा विश्वासघात गरेको र उनले पिठ्यूँमा छुरा घोपेको बताए । नेता यादवले आजको दिनमा प्रचण्डसँग विश्वास गर्न सकिने आधार नरहेको, एकता र सहकार्य पनि सम्भव नरहेको बताए ।

‘मैले ठूलो दुर्घटना पर्ने बेलामा, संकटको बेलामा प्रचण्डजीलाई साथ दिएको हो, सहकार्य गरेको हो । त्यसको बदलामा उहाँले के गर्नुभयो त ? उहाँले त पिठ्युँमा छुरा रोप्नुभयो । मित्रघात, विश्वासघात गर्नुभयो । त्यो उहाँले गरेको हो,’– उनले भने । File Photo/RN