काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले लुटेरा, भ्रष्ट शासकहरुको कमाण्डर हुनुभन्दा शोसित, पीडित, अधिकारविहीन, आवाजविहीन सर्वसधारणको सिपाही हुनुमा गौरव लागेको बताएका छन् । आजपा निकटको आम सम्पर्क मञ्च केन्द्रीय कमिटीको आज (शनिबार) काठमाडौंको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘म जुन पार्टीमा थिएँ, त्यहाँ राम्रै पोजिसनमा थिएँ । तर त्यहाँबाट आम जनताले अधिकार नपाउँने, भ्रष्टहरुको रजगज रहेको मैले अनुभुति गरें,’ आजपा अध्यक्ष साहले भने, ‘आम जनताले कसरी अधिकार पाउने, राज्यसत्तामा कसरी पहुँच पुर्याउने, अधिकारविहीनको अधिकार कसरी सुरक्षित गर्ने भन्नेबारेमा सोचेरै आम जनता पार्टीको गठन गरेको हो । मलाई लुटेर, भ्रष्ट एवं शासकहरुको कमाण्डर हुनुभन्दा शोसित, पीडित, अधिकार विहीनहरुको सिपाही हुनुमा गर्व महशुस हुन्छ ।’
काँग्रेस र कम्युनिष्ट भनाउँदाहरुले आम जनतालाई धोका दिईरहेको साहको आरोप छ । उनले शासनसत्तामा आम जनताको अधिकार एवं सहभागिताका लागि पाईरहेको सुख, सुविधा त्यागेर एमाले गठबन्धनको टिकट परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएको पनि स्मरण गराए । अहिले शासन व्यवस्था लुटेर वर्गको कब्जामा रहेको उनको आरोप छ ।
नेपालमा लुटेर विदेशमा सम्पत्ति थुपारिरहेकाले आम जनताको शासन व्यवस्थामा पहुँच नभएसम्म संघर्ष जारी राख्ने उनको घोषणा छ । नेपालमा दुई थरीको मान्छेहरु रहेको बताउदै उनले एकले नेपाललाई समृद्ध बनाउन खोजेको र श्रम गरिरहेको बताए । अर्को थरीका मान्छेले नेपालमा लुटने, भ्रष्टाचार गर्ने र विदेशमा पुँजी थुपार्ने काम गरिरहेको उनले बताए ।
नेपालमा आफ्नो भविष्य सुरक्षित नदेखेपछि यहाँबाट लुटेर विदेशमा पुँजी थुपार्नेहरु उतै बस्न खोजेको उनले बताए । नेपालको पुँजी पनि उनीहरुले बिदेशमा लगिरहेको बताउदै उनले यसमा सरकारले पनि सहयोग गरिरहेको टिप्पणी गरे ।
अहिले भगौडा वर्गको शासन रहेको बताउदै आजपा अध्यक्ष साहले आम जनताको शासन नहुँन्जेल संघर्ष जारी राख्नुपर्ने बताए । यस्तै दुनियाँमा कहीँ नभएको व्यवस्था नेपालमा गरेर लुट मच्चाउने काम भईरहेको उनले बताए । ७५३ भन्दा बढी सरकारले करपिच्छे कर र करको पनि कर लिएर आम जनतालाई लुटिरहेको उनले बताए ।
‘तीन तहको सरकार विश्वमा कहीँ पनि छैन् । तर नेपालमा थ्रि–टायरको सरकार बनाएर लुट मचाइएको छ । करमाथि कर, करको पनि कर । सरकारले मुलुकमा कर आतंक मच्चाएको छ । यसका बिरुद्ध हामी एकजुट भएर संघर्ष गर्नुको विकल्प छैन्,’साहले भने, ‘सरकारको मनोमानी तथा सरकारपिच्छे कर आतंकबिरुद्ध लड्नैपर्छ ।’
आम सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष देवेन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज बिल्टु यादव, सहइन्चार्ज श्रीनारायण साह, आजपा नेताहरु सुमन यादव, सीमा जैसवाल, मिना साह, उपेन्द्र साह, राजेश शर्मालगायतको विशेष सहभागिता रहेको थियो । बैठकले सम्पर्क मञ्चको संगठन बिस्तार र संघर्षका कार्यक्रम एवं रणनीतिको बारेमा छलफल गरेको मञ्चका नेता राजेश शर्माले जनाएका छन् ।
प्रतिक्रिया