भिजिट भिसा प्रकरणको सहमतिलाई लिएर एकथरी मान्छेहरुले जहाजै डुब्यो, आकाश नै खस्योजस्तो गरेः प्रचण्ड


काठमाडौं, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणमा सत्तारुढ दलहरुले समिति बनाएर छानविन गरिने प्रतिवद्धता व्यक्त गरेपछि मात्रै सदनको गतिरोध अन्त्य भएको बताएका छन् । आज (शनिबार) झापाको दमकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, विद्यालय शिक्षा विधेयक, निजामति कर्मचारी विधेयक, नागरिकता विधेयकलगायतलाई निष्कर्षमा पुर्याएर ऐनको रुप दिन माओवादीले पहलकदमी लिनुपर्ने अवस्थामा सत्तारुढ दलहरुसँग समझदारी गर्नुपर्ने अवस्था आएको बताएका हुन् । प्रचण्डले सत्तारुढ दलहरुसँग भएको त्यो सहमतिलाई एकथरी मान्छेहरुले आकाशै खस्यो, धर्ती नै भासियोजस्तो गरेको बताए ।

‘माओवादीले अनन्तकालसम्म सदन अवरोध गर्नु भनेको संघीय निजामति ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषयलाई महत्व नदिनु, जनताका मुद्दाहरु थाती राख्नु हुन जानेभयो । त्यसो भएको हुनाले सरकारलाई एक हदसम्म छानविनको लागि बाध्य पारेर, एक महिनाभित्र समिति बनाएर गर्छौं भन्ने बाध्य पारेपछि राष्ट्र र जनताको बृहत हितका निम्ति हामीले गरेको हो । तर, एकथरी मान्छेहरु लौ खत्तम भयो, जहाज नै डुब्यो, आकाश नै खस्यो, धर्ती नै भासियो जस्तो गरेर विलकूल वाइयत कुरा हो । हामी जिम्मेवार पार्टीमात्रै होइनौं । संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व र अपनत्व लिने र रक्षा गर्ने मुल पार्टी हो,’– उनले भने ।

अध्यक्ष प्रचण्डले माओवादीविरुद्ध अहिले भ्रम, षड्यन्त्र र घेराबन्दी बढेको बताए । प्रतिक्रियावादी घेराबन्दी तोड्न जरुरी रहेको उनको भनाइ छ । आफू नेतृत्वको सरकारको पालामा सुशासन र सामाजिक न्यायको मुद्दा उठाएको पनि अध्यक्ष प्रचण्डले स्मरण गराए । तत्कालीन समयमा नीति तथा कार्यक्रमअनुसार नै बजेट विनियोजन गरिएको भए पनि अहिलेको सरकारले ती सबै कार्यक्रमलाई बेवास्ता गरेको प्रचण्डले बताए ।

विगतमा आफूहरुले अगाडि सारेको रणनीतिक योजनाहरु वर्तमान सरकारले काटिदिएको उनको भनाइ छ । दलित, महिला, आदिवासीसँग सम्बन्धित सबै कार्यक्रम वर्तमान सरकारले काटेर ठूलो षड्यन्त्र गरेको उनले बताए । File Photo/RN