काठमाडौं, २१ असार । जनमत पार्टीक अध्यक्ष डा. सिके राउत फेरि आलोचनाको केन्द्रमा देखिएका छन् । पार्टीभित्र आफ्नै दाइलाई अवसरमाथि अवसर प्रदान गरेको आरोप खेप्दै आएका अध्यक्ष राउत फेरि दाइ जयकान्त राउतलाई उपाध्यक्ष मनोनित गरेपछि आलोचित बनेका हुन् । पार्टी पँक्तिभित्रैबाट अध्यक्ष राउतमाथि परिवारवाद लादेको आरोप लाग्न थालेको छ ।
यद्धपी जयकान्त राउत जनमत पार्टी निर्माणमा सुरुदेखि नै खटिएका नेता हुन् । तर, योजना आयोगमा नियुक्ती खाँदा होस वा संसद्को चुनाव लड्दा होस या अहिले पदाधिकारीमा उपाध्यक्षजस्तो महत्वपूर्ण पदमा मनोनित हुँदा नै किन नहोस, सिकेले जयकान्तलाई नै अवसर प्रदान गर्दै आएका छन् । ०७९ को निर्वाचनमा सप्तरी–१बाट नै उम्मेद्वार थिए ।
उनले २१ हजारभन्दा बढि भोट ल्याएका थिए । तर, पराजित भएका थिए । सिके राउत अध्यक्ष भएपनि पार्टी परिचालनमा जयकान्तको नै बढि भूमिका छ । सिके राउत ध्यान (मेडिटेशन) मा लिप्त भैरहने बानी छ । यस्तोमा पार्टीको सबै जिम्मेवारी सिकेका दाइ जयकान्तले नै सम्हाल्दै आएका छन् । यो पार्टीमा हालै कोषाध्यक्षमाथि कारबाहीको विषयले ठूलो विवाद भएको थियो । केही नेता कारबाहीमा समेत परेका थिए ।
मधेश प्रदेशमा वैकल्पिक शक्तिको रुपमा उदाएको दल जनमतको नेतृत्व एकपछि अर्को गरेर विवादमा फस्न थालेपछि तल्लो तहका कार्यकर्ताहरु यतिवेला निराश बनेका छन् । तर, जयकान्तले पाएको जिम्मेवारीको विषयमा भने पार्टी प्रवक्ता डा. शरद यादवले भने बचाउ गरेका छन् । उनले जयकान्तको योगदान कसैले पनि भुल्न नसक्ने टिप्पणी गर्दै आएका छन् ।
अहिले जनमत पार्टीकै नेतृत्वमा मधेश प्रदेशमा सरकार चलिरहेको छ । मुख्यमन्त्रीको भूमिकामा सतिशकुमार सिंह छन् । आफ्नै सरकारले ल्याएको बजेटलाई लिएर पनि जनमत असन्तुष्ट छ । बजेटकै विषयलाई लिएर जनमतले सरकार छोड्नेसम्मको चर्चा चलिरहेको छ । केन्द्र सरकारमा पनि जनमतले सरकारलाई समर्थन कायम राखेको छ ।
तर, केन्द्र सरकारको कामकारबाहीबाट भने जनमत पनि रुष्ट छ । सार्वजनिक रुपमै सरकारको आलोचना गर्दै आएको जनमत सरकारलाई दिएको समर्थन फिर्ता लिन भने हतारिएको छैन । केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै मधेश सरकारबाट हात झिक्नुपर्ने अवस्था भएको कारण जनमत अहिले केन्द्र सरकारको विरोधमा खुलेर आउन सकेको छैन् । र, समर्थन पनि कायमै राखेको छ । file photo
प्रतिक्रिया