ओली सरकार असफल भयो, यसले राष्ट्रलाई बदनाम गरायो : दिनानाथ शर्मा


काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै  शर्माले सरकार असफल भएको र आँफै कुहिएर झर्न लागेको दाबी गरेका हुन् ।

उनले भने,‘यो सरकारलाई अब नालायक त के भनौं, यो भन्दा त्यति मिठो चाहीँ नलाग्ला, तर यो सरकार असफल भयो । यसले राष्ट्रलाई बदनाम गराउने काम गर्यो । देशलाई बदनाम गराउने विषयमा चाहीँ यो सरकार सफल छ । यो देशमा हामीमात्रै छैनौं, १४० भन्दा बढि देशका कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरु यहाँ छन् । हरेक दिन राज्यको तर्फबाट भएका भ्रष्टाचार र अनियमितताका केशहरु चाहे संसद्मा हुने गतिविधिहरु हुन् वा चाहे सरकारको तर्फबाट हुने गतिविधिहरु हुन्, या चाहे न्यायालयबाट हुने फैसला र हुने गतिविधिहरु हुन् ती राष्ट्रको शीर निहुरिने, झुक्ने प्रकारका देखा परेका छन् । यसले नेपाल र नेपालीहरुको शीर निहुरिएको छ ।’

उनले अन्तर्राष्ट्रिय जगतमा ‘नेपाल भ्रष्टाचारीहरुको देश, न्याय छैन, नेपालमा राज्यको तर्फबाट नै मानव तस्करी हुन्छ, तस्करहरुलाई कारबाही गर्ने स्थिति छैन् शैक्षिक संस्थाहरुमा महिनौं दिन तालाबन्दी हुन्छ’ भन्ने सन्द्येश प्रवाह भएको टिप्पणी गरे । उनले भने,‘यसकारणले यो सरकार सबै पक्ष र पाटोबाट नेपाली र नेपालीहरुको शीर निहुराउने र नेपाललाई बदनाम गराउने काममा सफल छ ।’

उनले सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितको पक्षमा यो सरकारले काम गर्न नसकेको ठोकुवा गरे । उनले भने,‘मलाई लाग्छ गठबन्धनका साथीहरुको आत्माले पनि अहिलेको सरकार र नेतृत्वले राष्ट्रलाई हित गर्यो भन्दैन । यो सरकारले राम्रो परिणाम दिएन ।’ उनले सरकार असफल भयो भन्दैमा आफ्नो दल सरकार फेर्नमा सक्रिय नभएको पनि जिकिर गरे । उनले भने,‘मओवादी केन्द्रले सरकार फेर्नमा सक्रियता प्रदर्शन गरेको छैन् । यो जरुरी छैन । हामी ०८४ सम्म जनताको बीचमा जान्छौं । हामीले धेरै धोका खाईसकेका छौं । अब बेइमानीहरुसँग संगत गर्दैनौं । हामी त संगठन निर्माणमा जान्छौं प्रतिपक्षको हैसियतले सडक र सदनबाट आवाज उठाउँछौैं ।’

उनले अहिलेको सरकारलाई आफूहरुले गिराउन नपर्ने र आँफै कुहिएर झर्न लागेको दाबी गरे । उनले भने,‘यो सरकारलाई हामीले गिराउनुपर्दैन् । यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको छ । विकास र विनाशको कारण आन्तरिक हुन्छ । गठबन्धनभित्र देखापरेको उकुसमुकुस अन्तिम अवस्थामा पुगेको छ, सरकार आँफै कुहिएर झर्ने अवस्थामा पुगेको छ ।’

राष्ट्रिय रुपमा समस्या आएको र सरकार बदनाम भएको सन्दर्भमा आफ्नो दलका अध्यक्ष प्रच(ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हिजो भेटवार्ता र गम्भीर कुराकानी भएको पनि शर्माले खुलासा गरे । राष्ट्रिय राजनीतिमा प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अहिले समस्या आउँदापनि त्यहीअनुसार आफूलाई प्रस्तुत गरेको उनको भनाई छ ।

उनले भने,‘माओवादी जिम्मेवारीपूर्वक उभिन्छ । राष्ट्रिय हितककोलागि हामी गम्भीर हुन्छौं । राष्ट्रिय रुपमा समस्या आयो, सरकार बदनाम भयो । नेपाली कांग्रेस सरकारमा छ, ठूले दल भएको कारण पनि कांग्रेस जिम्मेवार हो । कांग्रेसले किन सरकारको दाबी गरेन ? ओलीको ठाउँमा देउवा किन बन्नुभएन ?’ उनले आफूहरु सरकार ढलाउनुपर्छ भनेर गणितीय खेलमा नलागेको दोहोर्याए । उनले कांग्रेस–एमालेको सरकार र गठबन्धन चलिराख्दा नै आफूहरुलाई फाईदा हुने हिसाब सुनाए ।

https://youtu.be/X4nKPdX5QaQ