खानेपानी, सरसफाइ तथा फोहर व्यवस्थापन : सभ्य समाजको आधार, स्वस्थ राष्ट्रको पहिचान


खेम शर्मा –

खानेपानी, सरसफाइ र फोहर व्यवस्थापन कुनै ‘सहायक सेवा’ होइन सार्वजनिक स्वास्थ्यको पहिलो सुरक्षा ढाल, नागरिक जीवन गुणस्तरको प्रत्यक्ष मापन र राज्य अनुशासनको आधारभूत परीक्षा हो । अस्पतालपछि होइन अस्पतालअघि राष्ट्रको स्वास्थ्य यहीँबाट सुरु हुन्छ, किनकि सुरक्षित पानी र स्वच्छ वातावरणबिना उपचार प्रणाली आफैं थाक्छ । नागरिकको दैनिकी, बालस्वास्थ्य, श्रम उत्पादकत्व, पर्यटन, लगानी र सामाजिक गरिमासमेत यसैसँग गाँसिएका छन्। ‘सभ्य राष्ट्रको पहिचान उपचारले होइन रोकथामले हुन्छ ।’

नेपाल जलस्रोतमा धनी छ । तर, धेरै ठाउँमा सुरक्षित पानी अझै अधिकार होइन अनिश्चित सुविधा बनेको छ । स्रोत छ तर शुद्धीकरण छैन । पाइप छ तर चुहावट नियन्त्रण छैन । आयोजना छन् तर सञ्चालन मर्मतको क्षमता छैन । कतै धारा छ तर नियमितता छैन । कतै पानी आउँछ तर गुणस्तर अज्ञात छ । यो प्राकृतिक अभावको परिणाम होइन प्रणाली, योजना र जवाफदेहीता कमजोर भएको परिणाम हो । ‘पानीको संकट पानीको होइन—व्यवस्थापनको संकट हो।’

असुरक्षित पानीले झाडापखाला, टाइफाइड, हेपाटाइटिस, कुपोषण र बाल–स्वास्थ्य समस्या बढाउँछ र यसको प्रभाव विद्यालय उपस्थितिदेखि श्रम क्षमता, परिवारको अर्थतन्त्र र राष्ट्रिय उत्पादनसम्म फैलिन्छ । त्यसैले खानेपानीलाई नेपालवादले सम्झौताविहीन सार्वजनिक सेवा मान्छ । गुणस्तर, निरन्तरता र पहुँचमा कुनै बहाना चल्दैन । सुरक्षित पानीको अर्थ ‘धारा बग्नु’ मात्र होइन शुद्ध, नियमित र भरोसायोग्य सेवा हो । ‘नागरिकको स्वास्थ्य पानीबाट सुरु हुन्छ, पानीमा सम्झौता हुँदैन।’

पानीको गुणस्तर परीक्षण धेरै ठाउँमा औपचारिकतामा सीमित छ । प्रयोगशाला छैन, परीक्षण नियमित छैन, नतिजा सार्वजनिक हुँदैन, जिम्मेवारी स्पष्ट हुँदैन । जब तथ्य लुक्छ तब विश्वास घट्छ । जब विश्वास घट्छ तब अनुशासन भत्किन्छ । र, जब अनुशासन भत्किन्छ तब रोग नियन्त्रण बाहिर जान्छ । त्यसैले परीक्षण, अनुगमन र सार्वजनिक प्रतिवेदनलाई ‘प्रक्रिया’ होइन जनस्वास्थ्यको सुरक्षा संयन्त्र बनाउनु अनिवार्य हुन्छ । ‘पानी परीक्षण कागजका लागि होइन जीवन जोगाउनका लागि हो ।’

सरसफाइ शौचालय बनाउनु मात्र होइन यो व्यवहार, संस्कार र सामाजिक अनुशासन हो । हातधुने बानी, विद्यालय/अस्पताल स्वच्छता, मासिक धर्म सरसफाइ, सार्वजनिक स्थानको सफाइ र सुरक्षित ढल व्यवस्थापन, यी बिना संरचना टिक्दैन । सरसफाइलाई नेपालवादले ‘जीवनशैली शिक्षा’ मान्छ, जहाँ स्वच्छता डरले होइन गरिमा र जिम्मेवारीले चल्छ । ‘सरसफाइ संरचनाबाट सुरु हुन्छ, संस्कारमा टेकेर टिक्छ ।’

फोहर व्यवस्थापन अहिले सहरहरूको सबैभन्दा गहिरो चुनौती बनेको छ । धेरै ठाउँमा फोहर उठ्छ तर त्यसपछि के हुन्छ भन्ने स्पष्ट उत्तर छैन । संकलन-ढुवानी–छानबिन–प्रशोधन–अन्तिम व्यवस्थापन एउटै प्रणालीमा नजोडिँदासम्म फोहर सडकबाट हटेर अर्को संकट स्थलमा मात्र सर्छ । फोहर व्यवस्थापन सफल हुनु भनेको ‘थुप्रो देखिँदैन’ भन्ने मात्र होइन, फोहरको यात्रा वैज्ञानिक, पारदर्शी र नियन्त्रणयोग्य हुनु हो । ‘फोहर उठाउनु सेवा हो; फोहर व्यवस्थापन सभ्यताको मापन हो ।’

घरघरमा फोहर छुट्याउने संस्कार आधुनिक सहरको न्यूनतम आधार हो । छुट्याइएन भने कम्पोस्ट, पुनःप्रयोग र ऊर्जा उत्पादन असम्भव हुन्छ । ल्यान्डफिल बोझिलो मात्र होइन स्थायी संकट बन्छ । नागरिकले घरमै छुट्याउँदा मात्र स्थानीय तहको प्रणाली चल्छ । उद्योगलाई कच्चा पदार्थ स्थिर पाइन्छ र फोहरको लागत घट्छ । ‘फोहर छुट्याउने घर सभ्य समाजको पहिलो इकाइ हो ।’

फोहरलाई स्रोतमा बदल्ने दृष्टि नेपालका लागि वातावरणीय मात्र होइन आर्थिक अवसर पनि हो । यसका उदाहरण हुन्- कम्पोस्ट, पुनर्चक्रण उद्योग, हरित रोजगारी, ऊर्जा उत्पादन र नवप्रवर्तन । तर, यसका लागि स्थिर नीति, प्राविधिक क्षमता, बजार-जडान र निजी लगानीमैत्री संरचना चाहिन्छ । फोहर ‘बोझ’ होइन सही प्रणाली पाएपछि ‘कच्चा पदार्थ’ बन्छ । ‘फोहरलाई स्रोतमा बदल्न सके सहर आत्मनिर्भर बन्छ ।’

ल्यान्डफिल नेपालमा वैज्ञानिकभन्दा सामाजिक संकट बनेका छन् । जहाँ दुर्गन्ध, भू-प्रदूषण, स्थानीय असन्तोष र दीर्घकालीन स्वास्थ्य जोखिम सिर्जना हुने गरेको छ । वैज्ञानिक ल्यान्डफिल भनेको थुपार्ने ठाउँ होइन इन्जिनियरिङ, लेचेट/ग्यास नियन्त्रण, दैनिक सञ्चालन अनुशासन र बन्दपछि पुनर्स्थापनाको संयोजन हो । यसलाई राष्ट्रिय मापदण्डमा लैजानु विकासको विकल्प होइन अनिवार्य कर्तव्य हो। “फोहर थुपार्नु होइन फोहर व्यवस्थापन नै समाधान हो ।’

ढल र नदीनाला सफाइ सहरको स्वास्थ्यसँग सिधै जोडिएको विषय हो । ढल नदीमा मिसिँदा नदी ढलमा रूपान्तरण हुन्छ र त्यसको मूल्य नागरिकले रोग, दुर्गन्ध, प्रदूषण र सांस्कृतिक अपमानबाट चुकाउँछन् । ढल नक्सांकन, प्रशोधन केन्द्र, वर्षा-ढल र घर-ढल अलग्याउने संरचना, र कडा प्रदूषण नियन्त्रणबिना स्वच्छ सहर सम्भव हुँदैन ‘नदी सभ्यताको जन्मस्थल हो, फोहरको अन्तिम थलो होइन ।’

अन्ततः यो क्षेत्र बलियो भयो भने स्वास्थ्य खर्च घट्छ, जीवन–गुणस्तर बढ्छ, पर्यटन/लगानी बढ्छ, र राज्यप्रति भरोसा मजबुत हुन्छ। नेपाल अब अशुद्ध पानी र अव्यवस्थित फोहरसँग सम्झौता गर्ने राष्ट्र होइन स्वच्छ, सुरक्षित र अनुशासित जीवनशैली अंगाल्ने आधुनिक राष्ट्र बन्न सक्छ । ‘स्वच्छ पानी, स्वच्छ बानी, स्वच्छ सहर, यही सभ्य नेपालको वास्तविक पहिचान हो ।’

१. सुरक्षित खानेपानी नीति : स्रोत संरक्षण तथा वितरण प्रणाली सुधार

स्रोत जोगाएनौँ भने धारा चल्दैन । जलाधार/मुहान संरक्षण, पुनर्भरण क्षेत्र पहिचान, प्रदूषण रोकथाम, र एकीकृत शहरी खानेपानी गुरुयोजना अनिवार्य हुन्छ । वितरणमा चुहावट घटाउने, दबाब व्यवस्थापन, पाइप पुनःस्थापना, ट्यांकी–पम्प–लाइनको सेन्सर–आधारित निगरानी र नियमित मर्मतको अनुशासन लागू हुनुपर्छ। सेवा “आयो–गयो” होइन; निर्धारित मापदण्डअनुसार स्थिर हुनुपर्छ। ‘स्रोत सुरक्षित भयो भने मात्रै धारा सुरक्षित हुन्छ ।’

२. पानीको गुणस्तर परीक्षण, मापदण्ड निर्धारण तथा नियमित अनुगमन

हरेक पालिकामा पानी गुणस्तर परीक्षण कक्ष वा घुम्ती परीक्षण सेवा, नियमित नमुना परीक्षण, शुद्धीकरण मापदण्ड र सार्वजनिक प्रतिवेदन/ड्यासबोर्ड अनिवार्य हुनुपर्द्छ । उल्लङ्घनमा स्पष्ट कारबाही, जोखिम क्षेत्र पहिचान र पानी सुरक्षा योजना लागू हुँदा मात्रै ‘सुरक्षित’ भन्ने शब्दको अर्थ रहन्छ । ‘जहाँ तथ्य सार्वजनिक हुन्छ, त्यहाँ रोग लुकेर बस्दैन ।’

३. सरसफाइ पहुँच विस्तार, शौचालय, हात धुने सुविधा तथा स्वच्छ व्यवहार प्रवर्द्धन

लक्ष्य संख्या होइन प्रयोगयोग्यता र गरिमा हो । घर/विद्यालय/स्वास्थ्य संस्था/सार्वजनिक स्थानमा सुरक्षित शौचालय, साबुनसहित हातधुने सुविधा, मासिक धर्म सरसफाइका सामग्री र व्यवस्थापन, तथा फरक क्षमता/ज्येष्ठमैत्री पहुँच अनिवार्य हुनुपर्दछ । व्यवहार परिवर्तनलाई पाठ्यक्रम, समुदाय प्रशिक्षण, निरीक्षण, दण्ड–प्रोत्साहन र निरन्तर अनुगमनले संस्थागत गर्नुपर्छ । ‘शौचालय बन्यो भन्ने होइन शौचालय चल्यो भन्ने सफलताको संकेत हो ।’

४. फोहर संकलन, ढुवानी तथा दैनिक व्यवस्थापन प्रणाली सुदृढीकरण

टोल-टोलमा निश्चित समय/मार्ग/जिम्मेवारीसहित घर-घर संकलन, चुहावटरहित बन्द ढुवानी, उपकरण–जनशक्ति–इन्धनको स्थिर योजना, र सेवा–गुणस्तर सूचकसहित दैनिक निगरानी आवश्यक हुन्छ । अस्पताल/होटल/बजारजस्ता ठूलो फोहर उत्पादन गर्ने क्षेत्रका लागि छुट्टै नियम, छुट्टै संकलन र जोखिमयुक्त फोहरमा कडा नियन्त्रण अनिवार्य छ । ‘समयमै उठेको फोहर नै स्वस्थ सहरको पहिलो संकेत हो।’

५. घरघरमा फोहर छुट्याउने संस्कृति (छुट्याउने अनुशासन) को संस्थागत विकास

फोहर छुट्याउने अभ्यास स्वेच्छिक होइन न्यूनतम नागरिक अनुशासन हो। घरमा २/३ डब्बा, संकलनमा छुट्याइएका दिन/गाडी, वडास्तरमा छानबिन केन्द्र, र मिसाएर फाल्नेमा जरिवाना वा सेवा शुल्क विभेदीकरण लागू गर्नुपर्छ । नियम सरल, एउटै र सर्वव्यापी भयो भने बानी स्थायी संस्कार बन्छ। ‘घरमै छुट्याइयो भने फोहर बोझ होइन सम्भावना बन्छ।’

६. पुनःप्रयोग, रिसाइकल तथा स्रोत पुनर्प्राप्ति आधारित मोडेल

जैविक फोहरबाट कम्पोस्ट/बायोग्यास, पुनर्चक्रणयोग्य सामग्रीका लागि सामग्री छानबिन केन्द्र, र उद्योगसँग सुनिश्चित खरिद–जडान आवश्यक फर्छ । सार्वजनिक–निजी साझेदारीमार्फत पुनर्चक्रण उद्योग, हरित रोजगारी र ऊर्जा उत्पादनलाई नीति–सुरक्षा (टिपिङ शुल्क, दीर्घकालीन सम्झौता, बजार–जडान) दिनुपर्छ । ‘फोहरलाई अर्थतन्त्रमा फर्काउँदा सहरको खर्च घट्छ, क्षमता बढ्छ ।’

७. ल्यान्डफिल साइटहरूको सुधार, व्यवस्थापन तथा वैज्ञानिक प्रक्रिया लागू

ल्यान्डफिलमा इन्जिनियरिङ डिजाइन, जलरोधक तह, लेचेट संकलन/प्रशोधन, ग्यास नियन्त्रण, दैनिक कभर, कीट नियन्त्रण र बन्दपछि पुनर्स्थापना (पार्क/सौर्य क्षेत्र) अनिवार्य। जोखिम नक्सा, वातावरणीय अनुगमन र समुदायसँग पारदर्शी संवाद/लाभ–साझेदारी बिना ल्यान्डफिल सामाजिक रूपमा पनि टिक्दैन। ‘विज्ञानमा चलेको ल्यान्डफिलले सहरलाई रोगबाट जोगाउँछ ।’

८. नदी-नाला सफाइ, ढल व्यवस्थापन तथा प्रदूषण नियन्त्रण

ढल नक्सांकन, वर्षा–ढल/घर–ढल अलग्याउने संरचना, साना बस्तीका लागि साना प्रशोधन केन्द्र र ठूला सहरका लागि केन्द्रीय प्रशोधन केन्द्र विस्तार, तथा उद्योगमा ‘ औपचारिक निकास शून्य’ नीति लागू । नदी किनारलाई सार्वजनिक स्थल बनाउने हरित करिडोर, निगरानी र कडा जरिवानाले मात्र नदी दीर्घकालीन रूपमा जोगिन्छ। ‘ढल उपचार नगरी नदीमा पानी छोड्नु भनेको रोग खोलामा बगाउनु हो ।’

९. स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय

स्थानीय सरकार नियामक/संरक्षक, निजी क्षेत्र दक्षता/लगानी, समुदाय संस्कार/निगरानी, तिनैको भूमिका स्पष्ट हुनुपर्छ । संयुक्त खानेपानी, सरसफाइ समन्वय समिति, सार्वजनिक प्रतिवेदन, सेवा स्तर सम्झौता र पारदर्शी शुल्क/कर संरचनाबाट मात्र प्रणाली टिक्छ। ‘नीति, बजार र बानी एउटै दिशामा मिलेपछि मात्रै स्वच्छता स्थायी हुन्छ ।’

१०. सरसफाइ शिक्षा, जनचेतना तथा सफा–सहर/सफा–गाउँ अभियान

स्वच्छता अभियान पोस्टर होइन दैनिकी हो । विद्यालय–केन्द्रित सरसफाइ शिक्षा, टोल–स्तर स्वच्छता स्कोरकार्ड, उत्कृष्ट अभ्यासलाई पुरस्कार र उल्लङ्घनमा दण्ड दिनुपर्छ । मिडिया/युवा/समुदाय अगुवाको उदाहरण–केन्द्रित नेतृत्वले बानीलाई संस्कारमा बदल्छ र संस्कारले संरचनालाई टिकाउँछ । ‘सफा सहर नीतिले होइन नागरिक संस्कारले बनाउँछ ।’

नेतालाई भेट्दा, घरदैलोमा आउँदा वा अन्तर्वार्ता लिँदा नागरिकले सभ्य तर स्पष्ट रूपमा सोध्न सक्ने खानेपानी, सरसफाइ तथा फोहर व्यवस्थापन सम्बन्धी ११ निर्णायक प्रश्न –

१) १२ महिनामा कति घरधुरीलाई २४/७ वा सुनिश्चित समय सुरक्षित पानी ? (प्रतिशतसहित)

२) पानीको चुहावट/क्षति कति छ, एक वर्षमा कति घट्छ ? (लक्ष्य र उपाय)

३) पानी परीक्षण कक्ष/घुम्ती परीक्षण सेवा कति पालिकामा कहिले ? नतिजा सार्वजनिक ड्यासबोर्ड कहिले ?

४) दूषित पानी भेटिए कति घण्टाभित्र सूचना र समाधान ? जिम्मेवार निकाय को ?

५) विद्यालय/स्वास्थ्य संस्थामा साबुनसहित हातधुने र मासिकधर्म सरसफाइ सुविधा एक वर्षमा कति प्रतिशत ?

६) सार्वजनिक शौचालय कहाँ–कहाँ, कसले चलाउँछ, कसरी मर्मत हुन्छ ? (सञ्चालन मोडेल)

७) फोहर संकलन दैनिक तालिका र सेवा स्तर के? नपुगे कसले जवाफदेही ?

८) फोहर छुट्याउने नियम कहिले अनिवार्य ? मिसाएर फाल्नेमा दण्ड/शुल्क संरचना के ?

९) कम्पोस्ट/पुनर्चक्रण/ऊर्जा उत्पादनका लागि छानबिन केन्द्र/कम्पोस्ट प्लान्ट कति ? साझेदारी मोडेल कस्तो ?

१०) ल्यान्डफिलमा लेचेट र ग्यास नियन्त्रण कुन मापदण्डमा ? समुदाय सुरक्षा/स्वास्थ्य निगरानी कसरी ?

११) ढल प्रशोधन कवरेज कति ? एक वर्षमा कति प्रतिशत वृद्धि ? उद्योग प्रदूषण उल्लङ्घनमा कस्तो कडा कारबाही ?

Skip This

Omoda E5 Pro