काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्ध अन्त्य गराउनका लागि यसै हप्ता फेरि वार्ता सुरु हुन सक्ने सङ्केत दिएका छन् ।
गत शनिबार इस्लामावादमा यो वार्ता कुनै निष्कर्षविना टुङ्गिएको थियो, जसलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरेको थियो ।
ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनमा केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यहीँ जाने बढी छ।’
उनको यो भनाइ यस्तो बेला आएको छ जतिबेला अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा नाकाबन्दी गरेपछिको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज पार नभएको दाबी गरेको छ। यस गतिरोधले आगामी साता सकिन लागेको दुई हप्ते युद्धविराममाथि पनि प्रश्न खडा गरेको छ ।
इरानको तर्फबाट ट्रम्पको भनाइमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन, तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन्।
तेल बजारलाई थोरै राहत
खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा फेरि पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि अहिलेसम्म कुनै मिति तय भएको छैन। यो जानकारी समाचार एजेन्सी रोयटर्सले दिएको हो।
दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई पनि केही राहत मिलेको छ, जसका कारण मंगलबार तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ।
फेब्रुअरी २८ मा अमेरिकी र इजरायली हवाई आक्रमणहरूपछि इरानले विश्वका लागि अत्यन्तै महत्त्वपूर्ण तेल र ग्यास परिवहन मार्ग होर्मुज स्ट्रेटलाई प्रभावकारी रूपमा बन्द गरिदिएको छ।
अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकहरूले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट निस्कने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन्। यसले इरानको अर्थतन्त्रमा चोट पुगेको छ।
के अमेरिकी नाकाबन्दी प्रभावकारी साबित भइरहेको छ त ?
यस कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो। यसका लागि इरानको आम्दानीका दुई ठूला स्रोतहरूलाई निशाना बनाइएको छ । ती हुन्- तेलबाट हुने आम्दानी र यस महत्त्वपूर्ण जलमार्ग हुँदै जाने जहाजहरूबाट उठाइने भारी टोल ।
मध्यपूर्व र मध्य एसियाका केही भागहरूमा अमेरिकी सैन्य गतिविधिहरूको जिम्मेवारी सम्हाल्ने अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले नाकाबन्दीको पहिलो २४ घण्टामा छवटा व्यापारिक जहाजहरूले अमेरिकी बलहरूको निर्देशन पालना गर्दै इरानी बन्दरगाहहरूतर्फ फर्किन स्वीकार गरेको बताएको छ।
तर बीबीसी भेरिफाईले गरेको जहाज-ट्र्याकिङ डेटाको विश्लेषणमा नाकाबन्दीका बाबजुद इरानसँग जोडिएका कम्तीमा चारवटा मालवाहक जहाजले होर्मुज जलसन्धि पार गरेको पत्ता लगाएको छ। तीमध्ये कम्तीमा दुईवटा जहाज पहिले इरानी बन्दरगाहहरूमै थिए। इरानसँग कुनै सीधा सम्बन्ध नभएका अन्य तीनवटा जहाज पनि सोमबार नाकाबन्दी सुरु भएपछि यस जलसन्धि हुँदै गएको देखिएको छ।
गत शनिबार-आइतबार पाकिस्तानको राजधानी इस्लामावादमा भएको सुरुवाती उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन। अमेरिकाका अनुसार इरान उसका सर्तहरूमा सहमत भएन। इरानको आणविक महत्त्वाकांक्षा नै वार्तामा सबैभन्दा ठूलो अवरोध बन्यो।
एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानसँग २० वर्षसम्म युरेनियम प्रशोधन (एनरिचमेन्ट) पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ। उता, अन्य अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले ५ वर्षसम्म मात्र युरेनियम प्रशोधन रोक्ने प्रस्ताव गरेको छ।
आर्थिक मन्दीको खतरा ?
यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ। यस विषयमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन् कि विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा ‘थोरै आर्थिक पीडा’ स्वीकार्य छ।
यद्यपि मङ्गलबार चीनले यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै यसले तनाव अझ बढाउने चेतावनी दिएको छ। चीनले भनेको छ- पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजमा गरिएको अमेरिकी नाकाबन्दीले अझ कमजोर हुनेछ।
उता इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन्। इरान समर्थित लडाकु सङ्गठन हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो।
अमेरिकी विदेश मन्त्रालयमा भएको यो बैठक सन् १९९३ पछि दुवै देशका अधिकारीहरूबीचको पहिलो सिधा वार्ता थियो। लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन्।
एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्- इस्लामावादमा भएको अमेरिका-इरान वार्ता र वासिङ्टनमा भएको इजरायल-लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन। (बीबीसीबाट)




प्रतिक्रिया