संस्कृति र नवप्रवर्तनलाई जोड्दै योगी नरहरिनाथ अनुसन्धान केन्द्र


काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।

विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका विलक्षण अन्वेषक योगी नरहरिनाथको अतुलनीय योगदानको उच्च सम्मान गर्दै केन्द्र स्थापना गर्ने प्रस्तावलाई सिनेट बैठकले औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको हो।

नयाँ स्थापित हुने केन्द्रमार्फत नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय, दर्शन तथा परम्परागत ज्ञानको वैज्ञानिक अध्ययन र अनुसन्धान गरिने विश्वविद्यालयले जनाएको छ। साथै, अनुसन्धान प्रक्रियालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउँदै नयाँ ज्ञान तथा नवप्रवर्तन (इनोभेसन) का क्षेत्रमा समेत गहन कार्य गरिनेछ।

यो केन्द्रको स्थापनासँगै नेपाल संस्कृत विश्वविद्यालयलाई देशकै मौलिक ज्ञान, संस्कृति र इतिहाससम्बन्धी अध्ययन-अनुसन्धानको विशिष्ट तथा अग्रणी केन्द्रका रूपमा विकास गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।