सियोल, २१ वैशाख । लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको उत्तर कोरिया र दक्षिण कोरियाबीच खेलकुदमार्फत देखिने दुर्लभ सम्पर्क फेरि एकपटक देखिने भएको छ । यसै सन्दर्भमा उत्तर कोरियाको एक महिला फुटबल टोलीले यही महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारी भएको जनाइएको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार प्योङयाङस्थित नेगोयाङ महिला एफसीले मे २० मा सुवोनमा आयोजना हुने एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा सुवोन एफसी महिलासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । मन्त्रालयले एएफसीले दक्षिण कोरियाली फुटबल निकायलाई उक्त टोलीको सहभागिता पुष्टि भएको जानकारी गराएको उल्लेख गरेको छ । तर, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरूले भने यस यात्राबारे कुनै औपचारिक समाचार सार्वजनिक गरेका छैनन् ।
दुई देशबीच खेलकुद आदानप्रदान अत्यन्तै सीमित रहँदै आएको अवस्थामा यो सहभागिता विशेष महत्त्वको मानिएको छ । यसअघि उत्तर कोरियाले सन् २०१८ डिसेम्बरमा टेबल टेनिस प्रतियोगिताका लागि आफ्ना खेलाडीहरू दक्षिण कोरिया पठाएको थियो । त्यही वर्ष दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकमा उत्तर कोरियाली खेलाडीहरूको सहभागिताले केही समयका लागि कूटनीतिक सम्बन्धमा सकारात्मक सङ्केत देखिएको थियो ।
त्यसअघि सन् २०१४ मा इन्चियनमा सम्पन्न एसियाली खेलकुदमा पनि उत्तर कोरियाको राष्ट्रिय महिला फुटबल टोलीले भाग लिएको थियो, जुन दक्षिण कोरियामा उनीहरूको पछिल्लो प्रतिस्पर्धा थियो । त्यसपछि भने दुवै पक्षबीचको सम्बन्ध पुनः चिसिँदै गएको थियो ।
विशेषगरी सन् २०१९ यता उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँगको अर्थपूर्ण कूटनीतिक संवाद स्थगित गर्दै आएका छन् । साथै, आफ्नै देशभित्र दक्षिण कोरियाली संस्कृति र भाषाको प्रभाव न्यूनीकरण गर्ने अभियानलाई पनि तीव्र बनाउँदै आएका छन् ।
यस्तो पृष्ठभूमिमा हुन लागेको यो खेल सहभागितालाई केवल खेलकुद मात्र नभई सम्भावित संवादको सानो झिल्कोका रूपमा पनि हेरिएको छ । रासस




प्रतिक्रिया