प्राइया, २१ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।
उक्त घटना अर्जेन्टिनाको उशुआइया बाट केप भर्डे तर्फ जाँदै गरेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हालसम्म एक जनामा प्रयोगशालाबाट हान्टाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप पाँच जनामा सङ्क्रमणको शङ्का गरिएको छ । कुल छ जना प्रभावितमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन् ।
दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यो घटना ‘गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी रोग’ को रूपमा देखा परेको थियो, जसले कम्तीमा दुई जनाको ज्यान लिएको र एक जना जोहानेसबर्गमा गम्भीर अवस्थामा रहेको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमा पुष्टि भएको हान्टाभाइरस सामान्यतया मुसा वा मुसाजन्य जनावरहरूको पिसाब वा मलमूत्रसँगको सम्पर्कबाट मानिसमा सर्ने गर्छ । संगठनले कहिलेकाहीँ मानिस–मानिसबीच पनि सर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै गम्भीर श्वासप्रश्वाससम्बन्धी जटिलता निम्त्याउन सक्ने बताएको छ ।
प्रारम्भिक विवरणअनुसार जहाजमा रहेका ७० वर्षका एक पुरुष यात्रुमा पहिलो पटक लक्षण देखिएको थियो, जसको जहाजमै मृत्यु भएको हो । उनकी ६९ वर्षीया श्रीमतीलाई पछि दक्षिण अफ्रिका लगिएको थियो, जहाँ उनको पनि मृत्यु भएको छ ।
तेस्रो मृतक एक ६९ वर्षीय बेलायती नागरिक भएको जनाइएको छ, जो हाल जोहानेसबर्गमा गम्भीर अवस्थामा उपचाररत छन् ।
विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जालमार्फत प्रभावित यात्रुहरूको चिकित्सा उद्धार, जोखिम मूल्याङ्कन तथा आपतकालीन प्रतिक्रिया जारी रहेको जानकारी दिएका छन् । उनले द्रुत र समन्वित कारबाहीले मात्र स्वास्थ्य जोखिम नियन्त्रण गर्न सकिने बताए ।
यस घटनापछि जहाजका सञ्चालक तथा सम्बन्धित देशहरूबीच थप उपचार, आइसोलेसन र यात्राको आगामी योजना सम्बन्धी छलफल भइरहेको बताइएको छ । रासस




प्रतिक्रिया