अमेरिकी सेना फिर्तीले युरोप सतर्क


येरेवान (आर्मेनिया), २१ वैशाख । जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयले युरोपेली सुरक्षाबारे नयाँ बहस सुरु गराएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई युरोपेली नेताहरूले आश्चर्यजनक भन्दै अब आफ्नै सुरक्षाको जिम्मेवारी अझ बढाउनुपर्ने स्पष्ट सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत हप्ता जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको थियो । तर ट्रम्पले शनिबार यो सङ्ख्या अझ बढी हुन सक्ने सङ्केत गर्दै अमेरिका आफ्नो सैन्य उपस्थिति कटौती गर्ने तयारीमा रहेको बताएका थिए । यस निर्णयको स्पष्ट कारण सार्वजनिक नगरिए पनि यसले उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नाटो० भित्र असमञ्जस सिर्जना गरेको छ ।

यो निर्णयलाई जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको सम्बन्धमा देखिएको तनाव र इरानमा जारी अमेरिकी–इजरायली सैन्य कारबाहीप्रति युरोपेली मुलुकहरूको अनिच्छासँग जोडिएको रूपमा हेरिएको छ । विशेषगरी मध्यपूर्वको द्वन्द्वमा युरोपेली सहयोगीहरू सक्रिय रूपमा नउत्रिएकोप्रति ट्रम्प असन्तुष्ट रहेको सङ्केतहरू देखिएका छन् ।

आर्मेनियाको राजधानी येरेवानमा भइरहेको युरोपेली नेताहरूको सम्मेलनका क्रममा नर्वेका प्रधानमन्त्री जोनास गह्र स्टोरेले यस निर्णयलाई अत्यधिक नाटकीय रूपमा लिन नहुने बताए । उनका अनुसार यो कदमले युरोपले आफ्नै सुरक्षामा थप जिम्मेवारी लिनुपर्ने अपेक्षा झल्काउँछ । उनले नाटोको ढाँचाभित्र सहकार्य र समन्वय कायम राख्दै यस्ता परिवर्तनहरूलाई व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे ।

युरोपेली सङ्घ (इयु) की विदेश नीति प्रमुख काजा कल्लासले पनि लामो समयदेखि युरोपबाट अमेरिकी सेना घटाउने चर्चा भइरहे पनि यस्तो निर्णयको समय भने अप्रत्याशित रहेको बताइन् । उनले नाटोभित्र युरोपेली भूमिका सुदृढ बनाउनु अपरिहार्य भइसकेको उल्लेख गरिन् ।

यस निर्णयको पृष्ठभूमिबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । इरानसँगको युद्ध अन्त्यका वार्तामा युरोपेली धारणा र अमेरिकी असन्तुष्टिबीचको सम्बन्धबारे प्रश्न उठे पनि कल्लासले त्यसबारे ट्रम्प आफैँले स्पष्ट पार्नुपर्ने बताइन् ।

नाटोका प्रवक्ता एलिसन हार्टका अनुसार ३२ सदस्यीय सैन्य गठबन्धनले जर्मनीमा अमेरिकी सैन्य उपस्थिति परिवर्तनसम्बन्धी विवरण बुझ्न वासिङ्टनसँग समन्वय गरिरहेको छ । यद्यपि यसअघि नै ट्रम्प पुनः सत्तामा आएपछि युरोपबाट अमेरिकी सेना फिर्ता हुने सङ्केत दिइएको थियो, जसअनुसार केही फौज रोमानियाबाट पनि हटाइएको थियो ।

नाटो महासचिव मार्क रुटले यस कदमलाई कम महत्त्व दिँदै युरोपेली सहयोगीहरूले अमेरिकी सन्देश बुझेको प्रतिक्रिया दिए । उनले युरोपेली देशहरूले द्विपक्षीय सैन्य सम्झौताहरू कार्यान्वयनमा जोड दिइरहेको र आगामी चरणका लागि आवश्यक सैन्य स्रोतहरू रणनीतिक रूपमा व्यवस्थापन गर्न थालेको बताए ।

तर युरोपेली मुलुकहरूबीच पनि अमेरिकी नीतिप्रति मतभेद देखिएको छ । फ्रान्स, स्पेन र बेलायतले इरानमाथि आक्रमणका लागि आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य आधारहरू प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेका छन् । स्पेनले त आफ्नो हवाई क्षेत्रसमेत प्रयोग गर्न नदिने निर्णय गरेको छ ।

यस्तै सन्दर्भमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हर्मुज जलघाँटी खुला राख्ने अमेरिकी प्रयासलाई स्वागत गरे पनि अस्पष्ट सैन्य अपरेसनमा युरोपेली सहभागिता नहुने स्पष्ट पारे ।

अर्कोतर्फ, व्यापारिक सम्बन्धमा पनि तनाव देखिएको छ । ट्रम्पले इयुले व्यापार सम्झौता पालना नगरेको आरोप लगाउँदै युरोपेली सवारीसाधनमा २५ प्रतिशतसम्म कर बढाउने योजना अघि सारेका छन्, जसले विशेषगरी जर्मनीलाई असर गर्ने देखिन्छ ।

यसबीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपले अस्ट्रेलिया, भारत र मेक्सिकोसँग व्यापारिक साझेदारी विस्तार गर्दै स्थिर र भरपर्दो आपूर्ति शृङ्खला निर्माणमा ध्यान दिइरहेको बताइन् । उनका अनुसार समान सोच भएका साझेदारहरूसँगको सहकार्यले युरोपको आर्थिक तथा रणनीतिक सुरक्षा मजबुत बनाउने छ । रासस