मुम्बई । बलिउड अभिनेत्री जाह्नवी कपूर र उनका प्रेमी शिखर पहाडिया यसै वर्ष विवाह बन्धनमा बाँधिने भनी भइरहेको चर्चामा उनका पिता एवं फिल्म निर्माता बोनी कपूरले मुख खोलेका छन्।
जाह्नवी र शिखरले सन् २०२६ को अन्त्यसम्ममा विवाह गर्ने तयारी गरिरहेको भन्दै भारतीय सञ्चारमाध्यमहरूमा आएका समाचारलाई बोनीले पूर्ण रूपमा अस्वीकार गरेका हुन्।
केही रिपोर्टहरूले त यो जोडीले आगामी सेप्टेम्बर वा अक्टोबर महिनामा गुजरातको जामनगरमा एक भव्य परम्परागत समारोहका बिच विवाह गर्न लागेको दाबीसमेत गरेका थिए। यी अड्कलबाजीका बारेमा सोधिएको प्रश्नमा बोनी कपूरले सीधा जवाफ दिँदै भनेका छन्, ‘होइन, यो कुरामा कुनै सत्यता छैन।’
शिखर पहाडिया लामो समयदेखि कपूर परिवारको नजिक रहँदै आएका छन्। उनलाई जाह्नवीसँग मात्र नभई कपूर परिवारका निजी कार्यक्रम, बिदा मनाउने गन्तव्य र विभिन्न मन्दिरहरूमा समेत सँगै देखिने गरिन्छ।
जाह्नवी आफैँले पनि गत अप्रिलमा ‘कफी विथ करण’ को एक एपिसोडमा आफू कसैसँग प्रेम सम्बन्धमा रहेको कुरालाई संकेत गरेकी थिइन्। जाह्नवीले बलिउडमा पाइला राख्नुअघि अर्थात् सन् २०१६ देखि नै यी दुईको नाम जोडेर चर्चा हुने गरेको थियो। बिचमा केही समय उनीहरू छुट्टिए पनि पछिल्ला केही वर्षदेखि भने उनीहरू सार्वजनिक स्थलहरूमा सधैँ साथै देखिँदै आएका छन्।
हालै एक पडकास्टमा कुराकानी गर्दै जाह्नवीले आफ्नो प्रेम र पार्टनरका बारेमा खुलेर कुरा गरेकी थिइन्। उनले शिखरको नाम नलिई आफ्नो सम्बन्धले आफूलाई सुरक्षित महसुस गराउने बताएकी थिइन्। जाह्नवीले भनेकी छिन्, ‘मायाले सुरक्षित महसुस गराउँछ। उनको उपस्थितिका कारण अब म आफूलाई पहिले जस्तो असहाय महसुस गर्दिनँ।’
यस सम्बन्धमा आफू एक सानो बच्चा जस्तै भएर रमाउन सक्ने र उनीसँग रहँदा आफू सबैभन्दा खुसी हुने उनले बताएकी छिन्। जाह्नवीका अनुसार यो प्रेमले उनलाई आफ्नो वास्तविक स्वरूपमा रहन ठूलो सहयोग पुर्याएको छ। पिता बोनीले विवाहको खबरलाई अहिले नकारे पनि जाह्नवी र शिखरको गहिरो प्रेम सम्बन्धले भने बलिउडमा निरन्तर चर्चा पाइरहेको छ।एजेन्सी




प्रतिक्रिया