पश्चिम बङ्गालमा १५ वर्षे ‘ममता शासन’को अन्त्यः भाजपाको ऐतिहासिक उदय



भारतीय राजनीतिमा ‘दिदी’को नामले परिचित ममता बनर्जीको अभेद्य किल्ला मानिने पश्चिम बङ्गालमा यसपटक ठूलो राजनीतिक उलटफेर भएको छ । १५ वर्षदेखि एकछत्र राज गरिरहेको तृणमूल कंग्रेस (टीएमसी)लाई पराजित गर्दै भारतीय जनता पार्टी (भाजपा)ले पहिलोपटक पश्चिम बंगाल राज्यमा ऐतिहासिक जित निकालेको छ ।

निर्वाचन परिणामअनुसार भाजपाले दुई तिहाइभन्दा बढी बहुमतका साथ २०६ सिट जितेको छ भने ममताको टीएमसी पार्टी ८० सिटमा खुम्चिएको छ । यो निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जी स्वयं आफ्नै निर्वाचन क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतान्तरले पराजित भएकी छन् ।
ममताको पराजयको प्रमुख कारण आर.जी. कर मेडिकल कलेजको बीभत्स घटनालाई मानिएको छ । सन् २०२४ अगस्टमा एक प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कार र हत्या भएपछि उठेको जनआक्रोशले अन्ततः चुनावी परिणामलाई प्रभावित पार्‍यो ।
ममता सरकारले दोषीलाई बचाउन खोजेको आरोप र महिला सुरक्षामा देखिएको गम्भीर लापरवाहीले टीएमसीको महिला भोट बैंक भत्काएको विश्लेषण गरिएको छ । यसको उदाहरण पानीहाटी क्षेत्र बन्यो, जहाँ पीडित चिकित्सककी आमाले भाजपाको टिकटमा २८,८३६ मतान्तरको जित निकालिन् ।
निर्वाचन आयोगले मतदाता सूचीमा गरेको व्यापक परिमार्जन पनि टीएमसीका लागि घातक सिद्ध भयो । करिब ९० लाख नक्कली वा मृत मतदाताको नाम सूचीबाट हटाइएपछि टीएमसीले वर्षौँदेखि पाउँदै आएको ‘अवाञ्छित लाभ’ रोकिएको विश्लेषण गरिएको छ ।
यस्तै, पश्चिम बङ्गालको ३० प्रतिशत मुस्लिम जनसङ्ख्याको बलमा चुनाव जित्दै आएकी ममतालाई यसपटक हिन्दू्र मतदाताहरूको ध्रुवीकरणले धक्का दियो । ममताले हिन्दू मतदाता रिझाउन मन्दिर निर्माण र ‘नरम हिन्दुत्व’को कार्ड खेले पनि मतदाताहरू भाजपाको स्पष्ट र आक्रामक हिन्दुत्वतर्फ आकर्षित भए । मालदा र मुर्शिदावाद जस्ता मुस्लिम बहुल क्षेत्रमा समेत भाजपाको अग्रता देखिनुले धार्मिक समीकरण बदलिएको सङ्केत गर्छ ।
यसपटक निर्वाचन आयोगले राज्य प्रशासनमाथि कडा नियन्त्रण राख्दै ठूलो सङ्ख्यामा जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूको सरुवा गरिदियो । २ लाख ४० हजारभन्दा बढी केन्द्रीय सुरक्षाकर्मीको तैनाथीले बुथ कब्जा र चुनावी हिंसालाई नियन्त्रण गर्दा मतदाताले विना डर मतदान गर्न पाए । टीएमसीले यसलाई प्रशासनिक ‘कु’को संज्ञा दिए पनि विश्लेषकहरूले यसलाई स्वच्छ चुनावको आधार मानेका छन् ।
यसैबीच, हार निश्चित भएपछि ममता बनर्जीले निर्वाचन आयोग र केन्द्र सरकारमाथि भोट लुटेर अनैतिक जित निकालेको गम्भीर आरोप लगाएकी छन् । उनले यसलाई लोकतन्त्रको हत्या भन्दै पुनरागमन गर्नेसमेत दाबी गरेकी छन् ।

उता, शुभेन्दु अधिकारीले भाजपाको जितलाई हिन्दुत्व र नरेन्द्र मोदीको जित भन्दै बङ्गाली हिन्दूहरू एकजुट भएको प्रतिक्रिया दिएका छन् । वामपन्थी समर्थकहरूको मतसमेत भाजपातर्फ गएको आँकलन गरिएको छ । यो परिणामले भारतीय लोकतन्त्रमा क्षेत्रीय दलहरूको भविष्य र भाजपाको बढ्दो प्रभावलाई नयाँ ढङ्गले परिभाषित गरेको छ । पश्चिम बङ्गाल अब एक नयाँ राजनीतिक युगमा प्रवेश गरेको छ ।