कैलाली, २६ वैशाख । सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा कार्यसम्पादनमा समस्या हुने गरेको गुनासा रहेको बताएका छन् ।
आज यहाँ मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले छिटोछरितो न्यायसम्पादनको अवस्था बनाउनपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख मियाँले सीमित स्रोतसाधनकाबीच पनि कार्यसम्पादन भइरहेकामा प्रशंसा गर्दै मुख्य न्यायाधिवक्तासहित सम्पूर्ण टोलीलाई अझै उच्च मनोबलसहित काम गर्न सुझाव दिए ।
मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन हस्तान्तरण गर्दै कार्यसम्पादनको अवस्थाबारे जानकारी गराएका थिए । उनले सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा गरेका बहस पैरवी, जिल्लाका विद्यार्थीलाई दिइएको कानुनी साक्षरता र सचेतना, कारागार अनुगमन, अन्य प्रदेशबाट सिकिएका असल अभ्यास तथा स्थानीय तहका न्यायिक समितिलाई गरिएको प्रशिक्षण एवं अन्तरक्रियाबारे जानकारी गराए ।
मुख्य न्यायाधिवक्ता जोशीले प्रतिवेदनमार्फत आठबुँदे सुझाव पनि दिएकाले तिनको कार्यान्वयनमा सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख मियाँले उक्त प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेशसभामा पठाइने र त्यसमा विस्तृत छलफल भई सुझाव सम्बोधन हुने विश्वास व्यक्त गरे । रासस




प्रतिक्रिया