नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक टेकबहादुर बोहरा पदमुक्त


काठमाडौं, ३१ वैशाख । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य टेकबहादुर बोहरा पदमुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाले उनलाई सञ्चालक पदबाट हटाएको हो ।

संस्थाले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रअनुसार, राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले वैशाख २८ गते पठाएको निर्देशनका आधारमा यो कदम चालिएको हो । बोहरालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १९ को उपदफा ३ को खण्ड (ग) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (ङ) बमोजिम पदबाट हटाइएको संस्थाले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दै वैशाख ३० गते बसेको नेरुडे मिर्मिरे लघुवित्तको ३९१ औं सञ्चालक समितिको बैठकले बोहरालाई हटाउने निर्णय गरेको हो ।

संस्थाले यस निर्णयको जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालयलाई समेत गराइसकेको छ । नेरुडे र मिर्मिरे लघुवित्त एकापसमा गाभिएर बनेको यो राष्ट्रिय स्तरको ‘घ’ वर्गको वित्तीय संस्था हो ।