सरकारले बहुमतको दम्भ देखायो: सांसद केसी



काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बहुमतको दम्भ देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजेको आरोप लगाएका छन् ।

सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले उक्त आरोप लगाएका हुन् ।
साथै केसीले नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको समेत टिप्पणी गरे ।

विगतका वर्षहरुमा नीति तथा कार्यक्रममाथि तीन दिनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको पनि केसीले स्मरण गराए।
नीति तथा कार्यक्रमले राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय समेट्ने भएकाले सदनमा गम्भीर बहस हुनुपर्नेमा पनि केसीले जोड दिए । साथै उनले छलफलमा प्रधानमन्त्री अनुपस्थित भएकोमा पनि कडा असन्तुष्टि जनाएका छन्।