प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौँमा हुँदै, भण्डारीले उद्घाटन र ओलीले समापन गर्ने


काठमाडौँ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन मंगलबार (कात्तिक १८) देखि काठमाडौँमा सुरु हुने भएको छ। ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता- समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दुई दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको मञ्चले जनाएको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चका अध्यक्ष रमेश पाण्डे र सचिव चानक पोखरेलले कात्तिक १८ र १९ गते हुने अधिवेशनको सबै तयारी पूरा भइसकेको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा एमालेका नेता लेखराज भट्टले प्रवासी नेपाली मञ्च प्रवासमा क्रियाशील संस्था रहेको उल्लेख गर्दै दोस्रो राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न हुने व्यक्त गरे ।

अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी कात्तिक १९ गते हुने समापन समारोहलाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। अधिवेशनमा भाग लिन विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षकहरू काठमाडौँ आइपुगिसकेका छन्।

मञ्चका अनुसार यस अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ।

प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार रक्षा, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका अन्य संघ-संस्थाहरूसँगको सहकार्य र समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरूको भूमिकाका विषयमा अधिवेशनले गहन छलफल गरी महत्त्वपूर्ण निर्णय लिने उल्लेख गरिएको छ।

विश्वका ३९ देशमा राष्ट्रिय कमिटी, ५ वटा महादेशीय कमिटी र ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार गरेको मञ्चले आजको प्रविधिको युगलाई ध्यानमा राख्दै ‘विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता’समेत आयोजना गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना सर्जकलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अधिवेशनलाई भव्य र सफल बनाउन मञ्चले सम्पूर्ण सञ्चारकर्मी, प्रवासमा रहेका नेपाली तथा विभिन्न राष्ट्रिय कमिटीका कार्यकर्ताहरूमा आह्वान गरेको छ।