काठमाडौँ । तीर्थ प्रचार महाअभियानको आयोजनामा काठमाडौँको ऐतिहासिक एवं धार्मिक स्थल गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गण (हनुमान चोक) मा ‘श्रीविष्णु-पुराण सत्सङ्ग एवं सपादलक्ष-हवनात्मक महायज्ञ-२०८३’ आयोजना हुने भएको छ।
गत श्रावण ९ गतेदेखि सञ्चालन भइरहेको चतुर्मास सत्सङ्ग तथा श्री स्कन्द महापुराण वाचनको समापन समारोहको पावन अवसर पारेर आगामी कात्तिक २८ गतेदेखि मङ्सीर ८ गतेसम्म यो धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो।
नेपालका पवित्र तीर्थस्थल, मठ-मन्दिर तथा धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रचार-प्रसार गर्ने उद्देश्यका साथ अघि बढेको तीर्थ प्रचार महाअभियानले लोककल्याण, आध्यात्मिक जागरण र विश्वशान्तिको कामनासहित महायज्ञ आयोजना गर्न लागिएको जनाएको छ।
आयोजकका अनुसार महायज्ञ अवधिभर परम वन्दनीय रामानुजाचार्य स्वामीजीबाट श्रीविष्णु पुराण वाचन हुनेछ भने दीपकिशोर गुरुजी (खगेन्द्र श्रीनिवास रामानुज दास) बाट श्री स्कन्द महापुराण वाचन तथा गजल कृष्ण गुरुदेवबाट पाठपारायण सम्पन्न हुनेछ। यसका साथै वाचनप्रवीण दीनबन्धु पोखरेल गुरुदेव, देवी सुमी मानव, डा. श्रीवासकृष्णदास ब्रह्मचारीजी महाराज, ईश्वर चेतनजी महाराजलगायतका पूज्य गुरुहरूबाट आशीर्वचन तथा प्रवचन रहनेछ।
कात्तिक २८ गते शुक्रवार महायज्ञको भव्य शुभारम्भ हुनेछ भने कात्तिक २८ देखि मङ्सीर २ गतेसम्म दैनिक बिहान श्रीविष्णु पुराण प्रवचन तथा कात्तिक २८ देखि मङ्सीर ७ गतेसम्म नित्य आराधना, हवन, ग्रन्थ पाठ-पारायण, स्कन्द महापुराण प्रवचन, महालक्ष्मी आराधना, तिल-पुष्पार्चना र सपादलक्ष दीप प्रज्ज्वलनका कार्यक्रम सञ्चालन हुनेछन्।
मङ्सीर ८ गते आयोजना गरिने समापन समारोहमा महापूर्णाहुति, महाअभिषेक, तिलक तथा प्रसाद वितरणका साथै चार महिनादेखि सिद्ध गरिएको जल र १०८ तीर्थको जलयुक्त कलश वितरण गरिने महाअभियानले जनाएको छ।
आयोजक तथा सङ्कल्पकर्ता दीपकिशोर गुरुजीले “तीर्थको महिमा जनजनमा, सनातन संस्कृतिको संरक्षण घरघरमा” भन्ने मूल सङ्कल्पका साथ आयोजना गरिएको यस अनुष्ठानमा सहभागी भई पुण्यलाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक आमन्त्रण गरेका छन्। धर्मप्रकाश टेलिभिजन एचडीले यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ।







प्रतिक्रिया