९ दिनमा तेस्रोपटक बढ्यो भारतमा पेट्रोल र डिजेलको मूल्य, नेपालमा के होला?


काठमाडौं, जेठ ९ । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । शनिबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ९१ पैसासम्म बढाइएको छ । पछिल्लो १० दिनको अवधिमा यो तेस्रो पटकको मूल्यवृद्धि हो । दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ६४ पैसाबाट बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ रुपैयाँ ५८ पैसाबाट बढेर ९२ रुपैयाँ ४९ पैसा पुगेको छ ।

राज्य स्वामित्वका तेल कम्पनीहरूले पश्चिम एसियामा जारी द्वन्द्वका कारण बढेको ऊर्जा मूल्यलाई क्रमिक रूपमा उपभोक्तामा सार्न मे १५ देखि मूल्य समायोजन सुरु गरेका थिए । त्यसयता यो तेस्रो वृद्धि हो ।

मे १५ मा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको थियो भने मे १९ मा फेरि ९० पैसा वृद्धि गरिएको थियो । यससँगै समग्रमा इन्धनको मूल्य प्रतिलिटर करिब ५ रुपैयाँले बढेको छ । गहुँ भित्र्याउने तथा धान रोपाइँको सिजन अघि विभिन्न राज्यहरूमा इन्धनको माग बढिरहेका बेला नयाँ मूल्यवृद्धि गरिएको हो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातको बढी प्रयोग गर्न तथा ‘वर्क फ्रम होम’ अपनाउन आग्रह गर्दै इन्धन खपत घटाउन नागरिकलाई आह्वान गरेका थिए । उनले यसबाट भारतको तेल आयात खर्च घट्ने र विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम हुने बताएका थिए ।