लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छः प्रम बालेन


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कालापानी–लिपुलेक सीमा समस्या समाधानका लागि भारत र चीनका अतिरिक्त बेलायतसँग पनि छलफल भइरहेको जानकारी दिएका छन् । संघीय संसद्‌मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले सुगौली सन्धिको समय र ब्रिटिसकालीन शासनका बेला नेपाल–भारत सीमाको अवस्था के कस्तो थियो भन्ने ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतसँग संवाद अगाडि बढाइएको स्पष्ट पारे ।

‘लिपुलेकका विषयमा भारतसँग सरकारले स्पष्ट अडान राखिसकेको छ र उताबाट जवाफ पनि आएको छ,’ संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘अब इतिहासविद्हरूसमेतलाई राखेर द्विपक्षीय वार्ता गर्ने तयारी छ । यसका लागि हामीले इङ्ल्यान्डसँग पनि कुरा गरेका छौँ ।’

नेपालको भूमि फिर्ता ल्याउने र सीमा विवादलाई कूटनीतिक माध्यमबाट सधैँका लागि टुङ्ग्याउने सन्दर्भमा सरकारले ऐतिहासिक दस्तावेजहरूको खोजी गरिरहेको र यसमा बेलायत सरकारको सहयोग महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ छ ।