‘पुराना दल कमजोर भएर फरक पर्दैन, रास्वपामै छ प्रतिपक्ष’ : सांसद भण्डारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद वदन भण्डारीले सिद्धान्तले मात्र देश नचल्ने भन्दै जनतालाई सेवा र विकासको प्रत्यक्ष डेलिभरी दिन आफ्नो पार्टी आएको बताएका छन् । विगतमा दुई तिहाइ बहुमत प्राप्त सरकार बने पनि सत्ताको भागबन्डा नमिल्दा पतन भएको उदाहरण दिँदै उनले रास्वपाको मूल ध्येय विकास र सुशासन रहेको दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद भण्डारीले विगतमा भएका यति, ओम्नी, गिरिबन्धु, वाइडबडी र टेरामक्स जस्ता भ्रष्टाचार काण्डमाथि सूक्ष्म अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही हुने स्पष्ट पारे । ‘जेनजी विद्रोह सुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्यकै माग गर्दै भएको थियो,’ उनले भने, ‘अहिले सरकार ती माग र पुराना भ्रष्टाचार काण्डहरूको छानबिनमा गम्भीर भएर लागेको छ ।’

रास्वपा सरकारमा आएपछि प्रशासनिक सुधारतर्फ ठूलो कदम चालिएको दाबी गर्दै भण्डारीले २२ वटा मन्त्रालयलाई घटाएर १८ मा झारिएको र संघीय मन्त्री तथा मन्त्रालयको सङ्ख्या कटौती गरिएको जानकारी दिए । बिनाघुस नियुक्तिहरू भइरहेको र राजदूतहरूको नियुक्तिसमेत खुला प्रतिस्पर्धाबाट हुन थालेको उनको भनाइ थियो ।

संसद्मा प्रतिपक्षको भूमिकाबारे बोल्दै सांसद भण्डारीले भने, ‘सदनमा कांग्रेस, एमालेजस्ता पुराना दलहरू कमजोर भएर केही फरक पर्दैन । रास्वपामै प्रतिपक्ष छ । सरकारले कुनै गलत काम गरे रास्वपाले नै सशक्त आवाज उठाउँछ, किनकि रास्वपा विकासका लागि आएको हो ।’

यसपटक अपूरा रहेका पुराना ठूला आयोजना पूरा गर्ने प्राथमिकता रहेकाले नयाँ राष्ट्रिय गौरवका आयोजना नल्याइएको उनले प्रस्ट्याए ।

देशको साझा समस्या गरिबी, बेरोजगारी, विभेद र अशिक्षा रहेको औँल्याउँदै उनले प्राकृतिक तथा धार्मिक विविधतायुक्त नेपालमा यी समस्या हटाएर समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए । बढ्दो महँगीप्रति पार्टी संवेदनशील रहेको र यसलाई घटाउन निरन्तर आवाज उठाइरहेको उनले बताए ।

यस्तै, मलेसियाको श्रम बजारबारे बोल्दै भण्डारीले नेपाली श्रमिकको रोजगारी गुम्न नदिइने प्रतिबद्धता जनाए । मलेसियन सरकारको प्रस्तावअनुसार २७५ वटा मेनपावरमा मात्र सीमित नभई अन्य इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूबाट पनि श्रमिक जान पाउने गरी सरकारले वार्ता र छलफल अघि बढाइरहेको उनले जानकारी दिए ।

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे, नेकपा (एमाले) का नेता कर्ण थापा, श्रम संस्कृति पार्टीका नेता एवं सांसद आर्यन राईले पनि समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।