‘सरकार अल्गोरिदम र प्रचारबाजीमै सीमित भयो, परिणाम शून्य’ : सांसद आर्यन राई


काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव एवं सांसद आर्यन राईले सरकार परिणाममुखी काम छाडेर पपुलिजम र सोसल मिडियाको अल्गोरिदममै सीमित भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राईले ६ महिनाको अवधिमा सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको र भौतिक विकासका काम ठप्प रहेको दाबी गरे ।

‘सरकार गठन भएको ६ महिना बितिसक्दा पनि अल्गोरिदम र प्रचारबाजीबाहेक कुनै नतिजा देखिएको छैन,’ राईले भने, ‘सुशासन र विकास निर्माणका काम ठप्प हुँदा वैदेशिक ऋण लिने क्रम भने झनै बढेको छ ।’

सरकारले सुरुमा दरबार हत्याकाण्ड, निर्मला पन्त बलात्कार तथा हत्या काण्ड र गिरिबन्धु टी-स्टेट घोटालाजस्ता प्रकरणका फाइलहरू खोल्ने दाबी गरे पनि कुनै पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । उनले सरकारलाई पपुलिजम र अल्गोरिदमको पछाडि नलागी जनताले अनुभूति गर्ने गरी सुशासन र विकासमा ध्यान दिन आग्रह गरे ।

आफ्नो दल जातीय एजेन्डामा आधारित नरहेको स्पष्ट पार्दै राईले देशबाट गरिबी, बेरोजगारी र भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने नै श्रम संस्कृति पार्टीको मूल माग रहेको बताए । ‘हाम्रो पार्टी काम गरेर देखाउनेमा विश्वास गर्छ, त्यसैले वास्तविक कामलाई मात्र सामाजिक सञ्जालमा राख्ने गरेका छौँ,’ उनले भने, ‘तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने सोसल मिडियाको अल्गोरिदममार्फत स्टन्ट र सस्तो प्रचारबाजी मात्र गरिरहेको छ ।’

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे, नेकपा (एमाले) का नेता कर्ण थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद बदन भण्डारीले पनि समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।