करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग


काठमाडौँ, २६ जेठ । राष्ट्रियसभाका सदस्यहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करका दर फेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

सभाको आजको बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले भने, “आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर त्यसमा पेज घटाएर अर्को विधेयक निकालिएको विषय छापाहरूमा आइरहेको छ, यो विषयमा स्पष्ट हुनुपर्छ ।”

सांसद रेनु चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करको दरमा हेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति गठन हुनुपर्नेमा जोड दिइन् ।

सांसद नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः०० बजे बस्नेछ ।

Skip This

Omoda E5 Pro