चितवन । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गरी आन्तरिक भेटघाट र संवादलाई तीव्र पारिएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै सभापति थापाले महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरूबीच साझा समझदारी बनाउन पार्टीका विभिन्न तहमा संवाद भइरहेको जानकारी दिएका हुन् ।
पार्टीभित्रका सबै पक्षलाई समेटेर महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न गृहकार्य भइरहेको उनले स्पष्ट पारे ।
उपसभापति शर्माद्वारा नेताहरूसँग संवाद
पार्टीभित्रको आन्तरिक व्यवस्थापन र आगामी रणनीतिका लागि शीर्ष नेताहरू सक्रिय रहेको बताउँदै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्माले विभिन्न नेताहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।
पार्टीभित्रको संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले विषयलाई सहज रूपमा प्रस्ट्याए ।
उनले भने: “पार्टीका नेताहरूसँग भेट्ने र संवाद गर्ने काम आफू र अन्य साथीहरूले निरन्तर गरिरहनुभएको छ । यसलाई कुनै गुट वा निषेधको राजनीतिभन्दा पनि महाधिवेशनको साझा तयारीका रूपमा बुझ्नुपर्छ ।”
क्रियाशील सदस्यता: १४औँ महाधिवेशनको भन्दा धेरै हुने दाबी
संगठन सुदृढीकरण र महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यताका विषयमा बोल्दै सभापति थापाले प्राविधिक तथा सांगठनिक कामहरू अन्तिम चरणमा पुगेको बताए । पुराना सदस्यहरूको नवीकरण र नयाँ इन्ट्रीको काम सकिन लागेको भन्दै उनले यसपटकको महाधिवेशनमा चौधौँ महाधिवेशनको तुलनामा क्रियाशील सदस्यहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि हुने दाबी गरे ।
“कांग्रेस कुनै हालतमा विभाजन हुँदैन”
पार्टीभित्र महाधिवेशन नजिकिँदै गर्दा देखिने वैचारिक बहस र नेतृत्वको दौडलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो । बाहिर चर्चा गरिएजस्तो पार्टीभित्र कुनै ठूलो दरार नरहेको जिकिर गर्दै सभापति थापाले नेपाली कांग्रेस कुनै पनि हालतमा विभाजन नहुने र महाधिवेशनपछि अझ सशक्त बनेर निस्कने दृढता व्यक्त गरे ।



प्रतिक्रिया