पाल्हीनन्दन (नवलपरासी), २८ जेठ। पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् ।
‘नहरमा पानी आएपछि धानखेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ,’ पाल्हीनन्दन –४ पाल्हीमा खेत रोपाइँ गरिरहेका किसान रामसिंह कुर्मीले भने, ‘कतिपय किसानको बीउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाइँ सुरु गरेका छन् । नहरको पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाइँ गर्न थालेका हौँ । खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो, गत वर्ष पनि मल पर्याप्त नपाएर धान उत्पादन घट्छकी किसानहरुलाई चिन्ता लागेको थियो । यस वर्ष पनि त्यस्तै छ ।’
रोपाहार नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति नै रोपाइँमा जुटेका छन् । गतका वर्षजस्तै यस वर्ष पनि पानी पर्ला भनेर छिट्टो धानको बीउ राखेर किसानले छिटो नै रोप्न थालेका छन् ।
नवलपरासीको पाल्हीमा धान रोपाइँ गर्दै गरेका किसान त्रिभुवन कुर्मीले भने । बीउ छोटो भए पनि खेतको छेउछाउका किसान रोप्न थालेको देखेर खेतमा ट्याक्टर जाने बाटो बन्द हुन्छ भनेर छोटो बीउ नै रोप्न थालेको बताए । अहिले यति बेला पश्चिम गण्डक नहरको उत्तरतर्फ नजिक रहेका र दक्षिणतर्फका अकिांश खेतमा किसानहरुले रोपाइँ गरिरहेका छन् ।
‘यस वर्ष गण्डक नहरमा पानी खोल्दा ३२ किमी गण्डक नहरमा ३६ घण्टामै नहर भरी पानी पुुगेको आफूलाई जानकारी आएपछि नहरको पानीबाट किसानले धान रोपाइँ गरेर लाभ लिनु भएछ,’ पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिए ।



प्रतिक्रिया