नेपाली राजनीतिको एउटा चरित्र असाध्यै अचम्मको छ— यहाँ पार्टीका झण्डाहरू फेरिन्छन्, सरकारमा अनुहारहरू बदलिन्छन्, तर चाकडी संस्कृति कहिल्यै बदलिँदैन। हिजो आम निर्वाचनमा परम्परागत दलहरू चाकडी संस्कृतिकै कारण बढारिए र ‘वैकल्पिक’ युवा शक्तिहरूको हातमा देशको बागडोर आइपुग्यो। आज बालेन शाह देशको प्रधानमन्त्री बनेका छन्। रवि लामिछाने संसद्को सबैभन्दा ठुलो र शक्तिशाली दल राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र डा. स्वर्णिम वाग्ले उपसभापतिसहित देशको अर्थतन्त्र हाक्ने अर्थमन्त्री छन।
संसद्को रोष्टमबाट रास्वपा सांसद माननीय सुलभ खरेलले आफ्ना नेताहरूलाई संसदको रोस्टमबाटै ‘श्रीकृष्ण’, ‘अर्जुन’ र ‘विदुर’ को उपाधि बाँडिदिए। तर, के फेसबुकको ‘लाइक’, टिकटकको ‘भाइरल भिडियो’ र संसद्को ‘ताली’ ले जनताको भोको पेट भरिन्छ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो।
संसद्मा रवि लामिछानेलाई ‘श्रीकृष्ण’ को रूपमा ब्याख्या गरियो । महाभारतका कृष्णले पाण्डवहरूलाई रणनीति सिकाएर युद्ध जिताएका थिए। ठीक त्यसै गरी, रविको सङ्गठन र ‘घण्टी’ को लहरले बालेन शाहलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्याउने आधार त तयार गर्यो। तर, हाम्रा कलियुगी कृष्ण आफैँ सहकारी प्रकरण र कानुनी मुद्दाहरूको ‘चक्रव्यूह’ बाट अझै पूर्ण मुक्त हुन सकेका छैनन्।
राजनीतिशास्त्रीहरूले भन्ने गर्छन् —”लोकरिझ्याइँ (Populism) को राजनीति तबसम्म मात्र चम्किन्छ, जबसम्म नेता प्रश्न सोध्ने ठाउँमा हुन्छ। आज ठ्याक्कै त्यस्तै भएको छ। राष्ट्रको नेतृत्वको सरकार सत्तामा छ र जवाफदेहिता सुरु भएको छ। प्रतिपक्षले अहिले रवि लामिछानेको नयाँ दिल्ली भ्रमणलाई लिएर ‘सीमा सुरक्षा’ र ‘कालापानी’ का एजेन्डामा किन मौन बसेको भन्दै प्रश्न उठाइरहेका छन। महाभारतका कृष्णले कंशको संहार गरेका थिए, तर यहाँ पार्टी प्रमुख र किंगमेकर बनेका यी ‘कृष्ण’ आफैँ संसद्मा उठेका भू-राजनीतिक प्रश्नहरूको चक्रव्यूहमा निरुत्तर देखिनु आजको तीतो यथार्थ हो।
अब कुरा गरौँ, ३६ वर्षीय युवा प्रधानमन्त्री बालेन शाह अर्थात् ‘अर्जुन’ को। माननीयज्यूले बालेनलाई लक्ष्यमा केन्द्रित अर्जुन त भने, तर महाभारतका अर्जुन सधैँ विधिको शासन र धर्मको मर्यादामा बाँधिएका थिए।
आज देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बनेपछि बालेन शाहमाथि ‘संसद्लाई बेवास्ता गरेको’ र ‘एकाधिकारवादी शैली’ अपनाएको संसदको रोस्टमबाटै देशको भूमिका विरुद्धमा अभिव्यक्ति दिएको जस्ता गम्भीर आरोप प्रतिपक्षले मात्र होइन, उनकै दलभित्रबाट पनि लाग्न थालेका छन। शहरी विकास र शासन व्यवस्था सम्बन्धी हार्वर्ड केनेडी कलेजको एउटा प्रतिवेदन अनुसार, “महानगर चलाउनु र सिङ्गो देशको जटिल कर्मचारीतन्त्र र भू-राजनीति सम्हाल्नुमा आकाश-जमीनको फरक हुन्छ। जब अर्जुनको गाण्डीव धनुष संस्थागत थिति (System) भन्दा माथि उठेर चल्न खोज्छ, तब लोकतन्त्रमा त्यसलाई पराक्रम होइन, ‘अधिनायकवाद’ को संज्ञा दिइन्छ। प्रधानमन्त्री शाहले देशको विकास सुशासन भ्रष्टाचारको अन्त्य र युवालाई रोजगारीसँगै पुराना दलहरूले सम्झौता गरेका अमेरिकी सहायता परियोजना MCC र चीनको BRI जस्ता अन्तर्राष्ट्रिय सामरिक दबाबहरूलाई कसरी चिर्छन्, त्यो नै उनको ‘अर्जुन दृष्टि’ को वास्तविक कसि हुनेछ।
सबैभन्दा रोचक उपमा त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाए—’विदुर’। महाभारतका विदुरले सधैँ गरिब, न्याय र नैतिकताको पक्षमा सल्लाह दिन्थे। तर, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमा काम गरिसकेका यी विश्वव्यापी अर्थशास्त्री जब देशको अर्थमन्त्री बने, उनले ल्याएको वित्तीय नीति र करका दरहरूमा ‘विदुर नीति’ को सुवास कतै भेटिदैन।
एशियाली विकास बैंक (ADB) को अनुसन्धान अनुसार, नेपाल अहिले साधारण खर्च धान्न नसक्ने र बढ्दो वैदेशिक ऋणको गम्भीर आर्थिक संकटमा छ। विदुरको नीति न्यायपूर्ण हुन्थ्यो, तर हाम्रा अर्थमन्त्रीले साना र मझौला उद्योग (SMEs) लाई करको दायरा बढाउने तर ठुला कर्पोरेट घरानालाई प्रोत्साहन गर्ने नीति ल्याएको भन्दै संसद्मै आलोचना सुरु भएको छ। बजेटको पाना-पाना पल्टाउँदा यो ‘विदुर नीति’ होइन, बरु मध्यमवर्गीय नेपालीको ढाड सेक्ने ‘धृतराष्ट्र नीति’ जस्तो देखियो भनेर अर्थशास्त्रहरूले नै व्यङ्ग्य गरिरहेका छन्।
जब ‘कृष्ण’ (रवि) सँग संसद्को बहुमत हुन्छ र ‘अर्जुन’ (बालेन) सँग प्रधानमन्त्रीको कार्यकारी शक्ति हुन्छ, तब शक्तिको द्वन्द्व हुनु स्वाभाविक हो। मन्त्रिपरिषद् गठनको समयमा शक्तिशाली गृह मन्त्रालय र नीतिगत प्राथमिकता कसको हुने भन्ने विषयमा रवि र बालेनबीच देखिएको आन्तरिक असमझदारीले कतै यो सरकार पनि पुरानै अस्थिरताको बाटोमा जाने त होइन भन्ने आशंका जन्माएको छ। राजनीतिक इतिहासले के देखाउँछ भने जब नयाँ शक्तिहरू सत्तामा पुग्छन्, उनीहरूभित्रको आन्तरिक स्वार्थ र अहंकारको टक्करले देशलाई झन् ठुलो अस्थिरताको ‘चक्रव्यूह’ मा धकेल्छ।
संसद्मा आफ्ना नेताहरूलाई भगवान् बनाउँदै गर्दा एउटा कुरा बिर्सनुभएन—महाभारतको युद्धको अन्त्यमा कुरुक्षेत्रमा रणभूमि बनेको थियो। विकास र समृद्धि थिएन। आज बालेन प्रधानमन्त्री, रवि पार्टी सभापति र स्वर्णिम अर्थमन्त्री त छन। तर, जनतालाई संसद्को चाप्लूसी र भजनकीर्तन होइन, महँगी, बेरोजगारी र भ्रष्टाचारबाट मुक्ति चाहिएको छ। नेतालाई देउता बनाएर टेबल ठोक्ने पुरानो रोग वैकल्पिक भनिएको पार्टीमा पनि सर्नु दु:खद कुरा हाे ।
( लेखक लक्ष्मीप्रसाद न्यौपाने- आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन् ।



प्रतिक्रिया