धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जाल विस्तार


म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती गुर्जासम्म सडक पुगेपछि जिल्लाका ४५ वटै वडामा सडक सञ्जालको पहुँच विस्तार भएको छ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार यस वर्ष गुर्जासम्म सडकको ट्र्याक खोलिएको हो। अब सडक स्तरोन्नति गरी नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडक पुगेपछि स्थानीयलाई यातायात सुविधा मिल्नुका साथै कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ।

लुलाङदेखि गुर्जासम्म करिब २२ किलोमिटर सडक निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा बजेट परिचालन गरेका थिए। यसअघि गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले भने गाउँपालिकाको सेवा लिन आउने नागरिक एकै दिनमा घर फर्कन सक्ने भएका छन्।

पछिल्ला चार वर्षमा धवलागिरिमा सडक पूर्वाधार विस्तारलाई ठूलो उपलब्धिका रूपमा हेरिएको छ। लुलाङ–गुर्जा सडकसँगै मरेनी–जलजला–ढोरपाटन सडकको ट्र्याक पनि निर्माण भएको छ। यसले म्याग्दी, बागलुङ र पूर्वी रुकुमबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

गाउँपालिकाभित्रका अधिकांश बस्तीमा सडक पुगे पनि मुदीको बगर फेदी–सिङ्कोस बगर र मल्कबाङ–भेडिखाल्टा क्षेत्रमा सडक विस्तार अझै बाँकी छ। आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट बजेट विनियोजन भएकाले भेडिखाल्टासम्म पनि सडक पहुँच पुग्ने अपेक्षा गरिएको छ।

सडक सञ्जाल विस्तारसँगै धवलागिरिका स्थानीयले यातायात, स्वास्थ्य, शिक्षा र कृषि उत्पादन ढुवानीमा सहजता अनुभव गर्न थालेका छन्। कुनै समय दुर्गमताको पर्याय मानिने धवलागिरिमा सडक विस्तारले विकास र समृद्धिको आधार बलियो बनाएको छ। रासस